बैंकमा राखेको पैसाको ब्याज घट्यो, ऋणको ब्याज पनि कम तिरे हुने

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२४ चैत्र ।

नयाँ वर्षदेखि सर्वसाधारण नागरिकले बैंकमा राखेको पैसाको कम ब्याज पाउने भएका छन्। वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूको छाता संस्था नेपाल बैंकर्स संघको अनौपचारिक बैठकले सर्वसाधारण नागरिकले जम्मा गर्ने मुद्दती र बचत खाताको साथै ऋणको ब्याजदर घटाउने निर्णय गरेका छन्।

कोरोना भाइरसका कारण उद्योगी व्यवसायीलाई मर्का परेको गुनासो आएपछि ऋणको ब्याजदर घटाउन दबाब दिइँदै आएको थियो। उक्त दबाब थेग्न नसकेपछि बैंकरहरूले ऋणको ब्याजदर घटाउने निर्णयमा पुगेका हुन्। ऋणको ब्याज घटेसँगै निक्षेपको ब्याजदर पनि घटाउने भएका हुन्।

बैंकरले बचत र मुद्दती खाताको भोलिदेखि र ऋणको ब्याज बैशाख १ गतेदेखि घटाउने भद्र सहमति गरेका हुन्। ऋण सस्तो बनाउन बैंकले निक्षेपको ब्याज पनि घटाउन लागेका हुन्। ऋणको र बचत खाता (मुद्दती र बचत) दुवैको १ प्रतिशत बिन्दुले ब्याज घट्ने भएको छ।

बैंकहरूले व्यक्तिगत मुद्दतिको ब्याज दर ८.७५ प्रतिशतमा झारेका छन्। संस्थागतको ८.५ प्रतिशत र नवीकरण गर्दा ८.६ प्रतिशतमा गर्नुपर्ने व्यवस्था गरेका छन्। यसअघि व्यक्तिगतको ९.७५ प्रतिशत, संस्थागतको ९.५ र नवीकरणमा ९.६ प्रतिशत व्याज थियो।

बचतको व्याज साढे ५ प्रतिशतमा झार्ने सहमति भएको छ। यसअघि साढे ६ प्रतिशत अधिकतम व्याज थियो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।