कोरोना आशंका गरिएका सल्यानका ३ जनाको रिपोर्ट आयो

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२० चैत्र ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा परिक्षणका लागी पठाएका सल्यानका ३ जना कै परिक्षण रिपोर्ट नेगेटिभ अर्थात संक्रमण नभएको पाइएको छ । बनगाड कुपिण्डे नगरपालिकाका दुईजना र छत्रेश्वरी गाउँपालिकाका एकजनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले लेकाली अनलाइनलाई बताए ।

कोरोनाको आशंकामा केहिदिन अघि उनिहरुको स्वाब संकलन गरेर काठमाडौंको केन्द्रीय प्रयोगशालामा नमुना पठाईएको थियो । जसको रिपोर्ट आजमात्रै नेगेटिभ अर्थात संक्रमण नभएको आएको हो । कोरोनाको आशंका गरिएपछि १६ चैत्रमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगालचुला माझखर्कका एकैघरका ५ जनालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको थियोे ।

त्यतिबेला नै उनिहरुको अवस्था सामान्य भएपनि आमा र बुबाको स्वाब परिक्षण लागि नमुना केन्द्रीय प्रयोगशालामा पठाईएको थियो । नेगेटिभ रिपोर्ट आएपछि जिल्ला अस्पतालको क्वारेन्टाइनमा रहेका एकैघरका ती ५ जनालाई आज नै डिस्चार्ज गरेर घर पठाएको प्रमुख बुढाले जानकारी दिए । त्यस्तै अर्का छत्रेश्वरी गाउँपालिका कोरोना आशंका गरिएका व्यक्तिको पनि रिपोर्ट नेगेटिभ आएपछि उनिमा पनि कोरोना नभएको पुष्टि भएको छ । भारतबाट आएका उनलाई पनि कोरोनाको आशंका गरिएपछि घरमै क्वारेन्टाइनमा राखिएको थियोे ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।