‘निकम्मा’ स्वास्थ्यमन्त्री ढकाललाई आजै हटाउन पूर्वसचिव उपाध्यायको ओलीसंग माग

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,१५ चैत्र ।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले कोरोना भाइरसको संक्रमणविरुद्ध काम गर्न नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र सचिव यादवप्रसाद कोइरालालाई हटाउन माग गरेका छन् ।

उपाध्यायले ट्वीट गर्दै स्वास्थ्य मन्त्री र सचिवले कोरोना भाइरसको संक्रमणविरुद्ध उचित काम गर्न नसकेको आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री खड्गप्रसाद ओलीसमक्ष जनताको तर्फबाट यो अर्जेन्ट अनुरोध खबर गरिदिनुपर्यो’, ट्वीटमा उपाध्यायले भनेका छन्, ‘निकम्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आजै हटाएर कुनै चिकित्साविज्ञलाई आजैदेखि स्वास्थ्यमन्त्री नियुक्ति गरिहालुन् ।’
उनले भनेका छन्, ‘कुनै स्वास्थ्यकर्मी कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मा दिइहालुन् ।’

मन्त्री र सचिवले जिम्मेवारी अनुसारको काम गर्न नसकेको भन्दै उपाध्यायले उनीहरूलाई हटाएर विज्ञहरूलाई नियुक्त गर्न माग गरेका हुन् ।

मन्त्री र सचिवले स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने सुरक्षाका सामग्री, औषधि, परीक्षण गर्ने किट आदि व्यवस्था गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।

जिल्लाहरूबाट समेत कोरोना भाइरसको संक्रमणको परीक्षण काठमाडौं ल्याउनेपर्ने लगायतका व्यवस्था अहिलेसम्म कायम राखेको भन्दै स्वास्थ्यमन्त्री र सचिवको आलोचना भइरहेको छ ।
उनीहरूले कोरोनाविरुद्ध आवश्यक पर्ने सामग्री र बन्दोबस्तीको कार्य नगरेको पनि आरोप लाग्न थालेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।