भाेली बिहान ६ बजेदेखि पूरै देश लकडाउन

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,१० चैत्र ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ । चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो ।

अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा देखिएकाले देशभर लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए । मन्त्रिपरिषद्ले आइतबार निर्णय गरेको भएपनि आजमात्रै खतिवडाले यो निर्णय सार्वजनिक गरेका हुन् ।

नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा दुईले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी लकडाउनको निर्णय गरिएको खतिवडाले बताए ।

जसअनुसार औषधि उपचार र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरिएको छ भने अनुमतिप्राप्त सवारी साधन, सुरक्षा निकाय, प्रेसबाहेक सबैप्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै आन्तरिक व्यवसायिक उडानमा पनि रोक लगाइएको छ भने अति आवश्यक पर्ने सरकारी कार्यालयका कर्मचारीबाहेक अन्यलाई आवश्यकता पर्दा तत्काल उपस्थित हुनेगरी बिदा दिने निर्णय गरिएको छ । निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पनि बिदा दिन भनिएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।