बाघ बन्छु भन्ने कमल थापालाई राजु थापाले मुसो बनाए

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,१० चैत्र ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल एजेण्डा व्याख्या गर्न अक्षम देखिएका कमल थापाले पार्टी एकताको औचित्य समाप्त पारेको एक राजनीतिक विश्लेषकले बताएका छन् ।

‘राप्रपाले उठाउँदै आएको धार्मिक स्वतन्त्रता, सनातन धर्म जस्ता मुद्दाको औचित्य कमल थापाले पुष्टी गर्न सकेनन् । यसबाट उनले राप्रपा एकताको औचित्य समाप्त पारे,’ ओटिभी नेपालसँगको अन्तरवर्तामा बोल्दै डा. सुरेन्द्र केसीले भने ।

न्यूज २४ को ‘टु द प्वोइन्ट’ साक्षात्कारमा थापाले मुसलमानहरुको घण्टाघर र सिराहाको भेलाप्रति आपत्ति जनाएका थिए । केसीले भने, ‘नेता त आम नेपालीको हुन्छ । एउटा धर्म र समुदायको मात्र नेता हुँदैन । यसरी विचरा कमल थापा अन्तरवार्तामा चुक्दै गए । पाइला लड्खराएको उनले बुझे । यसैले उनी रिसाए ।’

राप्रपाका नेता थापा त्यसरी रिसाउनु पर्ने अवस्था थिएन, प्राज्ञ केसी भन्छन् । ‘कमल थापा बरु अल्पज्ञानी जस्तो देखिए । उनले संविधान नै नपढेको भने जस्तो राजु थापाले अन्तरवार्ताको क्रममा पुष्टी गरीदिए ।’

पत्रकारले आफूलाई राप्रपाको मात्र नभएर देशकै अन्तिम नेता हो भन्ने गरी प्रश्न सोधुन् भन्ने थापाको अपेक्षा देखिन्छ । ‘तर राजु थापाले उनलाई मुसो बनाइदिए । आफू बाघ जस्तो प्रस्तुत हुन्छु भनेर गएका नेता मुसा बन्नु पर्दा रिसाउने नै भए । अन्तरवार्तामा भएको कुरा यही हो ।’

राजु थापासँग रिसाएका कमल थापा पूरा समय अन्तरवार्तामा बसेनन् । पत्रकारलाई उनले, क्षमता नभएको, भ्रम छरेको, लामो अनुभव भए पनि अन्तरवार्ता लिन उपयुक्त पात्र नभएको, पूर्वाग्रही भएको भन्ने आरोप लगाए ।

चर्चित राजनीतिक विश्लेषक केसी तर पत्रकारले त्यस्तो नगरेको बताउछन् । ‘मैले देख्दा राजु थापाको प्रस्तुति सही छ, कमल थापाको जवाफ पनि सही छ । तर राजु थापाले कुराको चुरो समातेका छन् । यो कुरा कमल थापालाई सह्य भएन ।’

कमल थापाको ‘फासिवादी चिन्तन’ को कारण अन्तरवार्तामा विवाद उत्पन्न भएको केसीको ठहर छ ।

‘राजाकै छत्रछायाँ र सेना, प्रहरीकै सहयोगमा कमल थापाको राजनीति अगाडि बढेको हो । त्यसबाहेक जनतासँग घुलमिलको उनको कुनै पृष्ठभूमी छैन । शायद थापाले कुनै निर्वाचन जितेर त्यो ठाउँमा पुगेका होइनन्,’ केसीले भने ।

दुर्भाग्यले थापा नेपालमा धेरै मन्त्री हुने व्यक्ति हुन्, केसी भन्छन्, ‘त्यस्तो व्यक्तिले आफूलाई सानो ठान्ने कुरै भएन । सैनिक परिवारमा हुर्किएको थापाको, ठूलोलाई सलाम हान्ने, सानोलाई खुट्टा ढोगाउने राजनीतिक स्कूलिङ हो । त्यस्तो मान्छेलाई एउटा भाई जस्तो सानो फुच्चे केटाले, के हो कमलजी ? कसो हो कमलजी ? भनेपछि असह्य हुन्छ नै ।’

केसी भन्छन्, ‘पत्रकारले पूर्ण हैसियत राखेका छन्, कहीँ कतै चुकेका छ्रैनन् । पत्रकारले पूर्वाग्रही तरीकाले प्रश्न सोधे भने पनि अन्तरवार्ता दिनेले त्यसलाई चिर्न सक्नु पर्दछ । अन्तरवार्ता दिने व्यक्तिको जिम्मेवारी भित्रको कुरा हो त्यो । को सही, को गलत भन्ने अन्तिम निर्णय त जनताले गर्छन् ।’

केसीको भनाइमा, कमल थापा कमजोर मान्छे होइनन् । प्रश्न उत्तरको विधिबाट पत्रकार नै उल्टो फस्यो भन्ने देखाउन सक्नु पर्दथ्यो ।

‘अन्तरवार्ता लिने भूमिकामा राजु थापा चुकेका छैनन् । उनले कडा प्रश्न उठाएका छन्, दस्तावेज नै लिएर उपस्थित भएका छन्,’ केसीले भने ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।