कोरोनाको कारण डिभोर्स ह्वात्तै बढ्यो

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,४ चैत्र ।

कोरोना भाइरस महामारीले संसारभर अनेक समस्या निम्त्याएको छ ।

खासगरी विश्व अर्थतन्त्रमा यसले गम्भीर असर निम्त्याउने धेरैको अनुमान छ । तर अनपेक्षित रुपमा चीनमा ‘डिभोर्स’का घटना समेत बढ्न थालेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको हो ।

चीनको छिआन सहरमा केही सातादेखि डिभोर्स गर्नेहरुको संख्या बढेको ग्लोबल टाइम्सले रिपोर्ट तयार पारेको छ । छिआनका विवाह दर्ता गराउने कार्यालयहरुमा केही हप्तादेखि नै डिभोर्स गराउन निवेदन हिनेहरुको संख्या बढेको हो ।

उत्तरपश्चिम सान्छी प्रान्तको राजधानी समेत रहेको छिआन सहरमा फेब्रुअरी २४ यता मात्रै ३ सय जोडीले डिभोर्सका लागि आवेदन दिएका हुन् । कोरोनाकै कारण यस्तो सामाजिक असर देखिएको बताइएको हो । सिचुआन प्रान्तको डाझउस्थित विवाह केन्द्रका व्यवस्थापक लु सिजुआनका अनुसार पहिले भन्दा डिभोर्स दर बढेको छ ।

रिपोर्ट अनुसार कोरोना महामारी फैलिन थालेपछि जोडीहरुले अधिकांश समय घरभित्र ‘क्वारेन्टाइन’मै बिताउनु परेको छ । जसले गर्दा आपसी बेमेल उत्पन्न हुन थालेको हो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।