खानेपानी मन्त्री बिना मगर पनि बेपत्ताको सूचींमा

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,४ चैत्र ।

बहालवाला खानेपानी मन्त्री बिना मगरको नाम पनि बेपत्ता पारिएका व्यक्तिको सूचींमा रहेको पाईएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सार्वजनिक गरेको बेपत्ता पारिएका व्यक्तिको सूचीमा मन्त्री मगरको नाम भेटिएको हो ।

मन्त्री मगरको नाम बेपत्ता पारिएका व्यक्तिको १९० नम्बरको सूचीमा छ । जहाँ कालिका–५, कञ्चनपुर स्थायी ठेगाना लेखिएको छ ।

सरकारद्वारा द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तत्कालिन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिको सूची सार्वजनिक गरेको हो । आयोगले उजुरीका आधार राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति भन्दै २ हजार ५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ । जसमा मन्त्री मगरको नाम पनि समावेश छ ।

तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागि भएकी मगरलाई तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरि २७ महिनासम्म सैन्य हिरासतमा राखेको थियो । उनलाई सेनाले भैरवनाथ गणमा हिरासतमा राखेको थियो । बिना मगर २०६० सालमा सेनाको गिरफ्तारीमा परेकी थिइन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।