प्रहरीको छापा: कालो बजारीका ८ लाख मास्क बरामद

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,४ चैत्र ।

काठमाडौंको सतुङ्गल क्षेत्रबाट ठूलाे मात्रामा मास्क बरामद भएको छ । चन्द्रागिरि- १० विष्णुदेवीस्थित एक गाेदाममा १ सय ७५ बोरामा लुकाएर राखिएका करिब ८ लाख ४९ हजार ६ सय थान सर्जिकल मास्क बरामद भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालका अनुसार कालोबजारीको सूचना पाएकाे आधारमा छापा मारिएको हो ।

जिल्ला प्रशासन र प्रहरीसहितको टोली छापा मार्न पुगेको थियो । काठमाडौं उपत्यकामा कालोबजारी बढेको सूचनाका आधारमा धमाधम छापा मार्ने क्रम बढेको छ । कोरोना भाइरसको नाममा देशभित्र कालोबजारी बढेपछि प्रशासन र प्रहरीले धमाधम छापा मार्न थालेको हो ।

यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो । शनिबारयता काठमाडौंबाट आठ लाख ४९ हजार ६ सय थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

उत्पादन मूल्य दुई रुपैयाँ प्रतिगोटा पर्ने मास्क सामान्यतयाः पाँच रुपैयाँका दरमा खुद्रा विक्रीवितरण हुँदै आएको थियो । तर, कोरोना भाइरसको संक्रमण विश्वभर बढेपछि साेही मास्क ५० रुपैयाँ प्रतिगोटामा विक्रीवितरण गरेर कालोबजारी हुँदै आएको छ ।

आइतबार साँझ विष्णुदेवी १० मा रहेको रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासन र प्रहरीले सिलबन्दी गरेको थियो ।

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा ८ लाख ४९ हजारभन्दा बढी थान माक्स बरामद गरिएको बताए ।

मास्कको कालोबजारी गरेर करोडौं कमाउने गिरोह सक्रिय भइरहेको छ । उपभोक्ताले यसबारे चासो देखाएपछि प्रशासन सक्रिय भएको हो ।

यसअघि प्रहरीले कपनको मिलन चोकबाट एक लाख ६८ हजार थान मास्कसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत छन् । यसैगरी सतुंगलबाट पनि काठमाडौं महानगरपालिका २३ घर भएका ३४ वर्षीय सुरज गोयल, भारतको राजस्थान घर भई बागबजार बस्ने ३७ वर्षीय सुवास महेश्वरी पक्राउ परेका छन् ।

पक्राउ परेका विरूद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ वमोजिम कारबाही हुने उनले बताए । बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो मालको मूल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने नियतले डिलर वा एजेन्टलाई १० वर्ष कैद वा जरिवाना हुने कानुनी व्यवस्था छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।