ढुक्क भएर एसइईमा सहभागी हुन महासङ्घको आग्रह

हाम्रो सन्देश संवाददाता

काठमाडौं,३ चैत ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड– १९ को सन्त्रासले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) नसर्ने भएकाले ढुक्क भएर परीक्षामा सामेल हुन विद्यार्थीमा आह्वान गरेको छ ।

सरकारले परीक्षा पूर्ववत् सञ्चालन हुने जनाएपछि महासङ्घका अध्यक्ष कृष्ण थापाले आज विज्ञप्ति जारी गरी परीक्षा नहुने भन्ने अन्योलमा नरही परीक्षा सञ्चालन गर्न गराउन सबै विद्यालय र शिक्षकलाई समेत आग्रह गरेको हो ।

सो परीक्षा यही चैत ६ गतेदेखि सञ्चालन हुँदैछ । परीक्षाका लागि साधारण र प्राविधिक धारका गरी चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन् ।

महासङ्घले भाइरसको जोखिमबाट आफूलाई सुरक्षित राख्न सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा दैनिक सवधानी अपनाउन आग्रह गरेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।