तपाईको भाग्य कस्तो छ चैत महिनामा ? हेर्नुहोस मासिक राशिफल

हाम्रो सन्देश संवाददाता

मेष :
चैत महिना खर्चिलो देखिए पनि विभिन्न अवसर प्राप्त हुनेछन् । सुरुमा सोखले खर्च बढाउनेछ र बीचमा दिगो कामका लागि लगानी जोहो गर्नुपर्ने स्थिति आउन सक्छ । समय र नियमको पावन्दीलाई विशेष ध्यान दिनुहोला, अहिलेको सानो प्रयत्नले पछिसम्म फाइदा उठाउन सकिनेछ । लगानी र विगतको साख जोगाउन भने निकै मेहनत गर्नुपर्ला । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । ऋणको बोझ उठाउनुपर्ने हुन सक्छ । केही व्यावहारिक चुनौती देखिए पनि पुरुषार्थी कामले उचाइमा पुर्याउनेछ। केही खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ । नोकरीमा प्रवेश वा स्थानान्तरणको बलियो सम्भावना छ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । आफन्तबाट भने टाढिनुपर्ने स्थिति आउन सक्छ ।

बृष :
आयस्रोत राम्रै देखिए पनि महिनाको पूर्वार्ध केही संघर्षमय रहनेछ । पहिलेका समस्याले घेर्नेछन् र नयाँ काममा बाधा पुग्नेछ । कार्यव्यस्तताले स्वास्थ्य समेत कमजोर रहनेछ । अल्पकालीन सोचाइले प्रगति रोकिने हुँदा सुरुमा समस्या किनारा लगाउनुहोला, टाढिएका सहयोगीहरू पुनः जुट्नेछन् । अधुरा काम बन्न थाल्नेछन् र रोकिएको आम्दानी हातलागी हुनेछ । दैनिकीले उचाइको मार्ग अवलम्बन गर्नेछ । महिनाको उत्तरार्धमा नयाँ अवसर प्राप्त हुनेछन् । व्यवसायमा उल्लेख्य फाइदा हुनेछ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । राजनीतिक पहुँच बढ्नुका साथै नाम, दाम र इनाम हातलागी हुनेछ । विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ । नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरणको बलियो सम्भावना छ ।

मिथुन :
विभिन्न अवसर प्राप्त हुनाले यो महिना उत्साहवर्धक रहनेछ । सानो प्रयत्नले नयाँ अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा सफलताको उचाइमा पुग्न सकिनेछ । प्रतिभाको राम्रो मूल्यांकन हुनेछ भने तारिफयोग्य काम सम्पादन हुनाले सामाजिक रूपमा ख्याति बढ्नेछ । व्यापार–व्यवसायमा पनि लगानी बढाउने समय छ । कृषिउपज र पशुधनबाट मनग्य फाइदा हुनेछ । अध्ययनले नयाँ गति लिनेछ भने प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर प्राप्त हुनेछ । नोकरीमा प्रवेश वा पदोन्नति हुनेछ भने राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । शुभचिन्तकहरूले साथ दिनेछन् तर प्रेममा भने खटपटी आउन सक्छ । महिनाको उत्तरार्धमा स्वास्थ्यबाधा, वादविवाद र धनहानि जस्ता समस्यासँग जुध्नुपर्नेछ ।

कर्कट :
सुरुमा केही संघर्ष गर्नुपरे पनि इच्छाशक्ति र लगनशीलताले उचाइमा पुर्याउनेछ । केही समय अरूका काममा जुट्नुपरे पनि अन्ततः फाइदा आफैंलाई हुनेछ । स्वाभिमानी व्यवहारले अवसरवादीहरूलाई परास्त गर्न सकिनेछ । क्षमता प्रदर्शन गरेर स्वरोजगार बन्न सफल भइनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ । विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ । आस मारेको प्रतिफल प्राप्त हुनाले उत्साहित भइनेछ । खर्चको मात्रा बढे पनि नयाँ क्षेत्रमा लगानी गर्ने मौका पाइनेछ । विदेश ताक्नेहरूलाई यात्राको अवसर जुट्न सक्छ। महिनाको उत्तरार्धमा मनग्य आम्दानी हुनेछ । धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । कर्मयोगले जीवनशैलीमा परिवर्तन आउनेछ ।

सिंह :
यो महिना केही संघर्षमय रहनेछ । व्यावहारिक चुनौती सामना गर्नुपर्ने समय रहेकाले सावधानीसाथ काममा जुट्नुहोला । अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ । सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दुःख पाइनेछ । पूर्वार्धमा व्यवसायमा मन्दी आए पनि उत्तरार्धमा स्थिति अनुकूल बन्नेछ । प्रयत्न गर्दा रोकिएको काम थालनी हुनेछ । बुद्धिको उपयोगले काम लिँदा पुरानो विवाद समेत सम्झौतामा टुंग्याउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ र कर्मयोगले पनि उचाइको बाटो समाउनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ । असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ । तर, चोटपटकको योग रहेकाले सवारीसाधन वा हातहतियारको उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला ।

कन्या :
यो महिनामा अवसर र चुनौती बराबर आउनेछन् । परिवेश रमाइलो देखिए पनि महिना खर्चिलो रहनेछ । विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । परिस्थितिवश घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिएला । प्रेम तथा दाम्पत्यमा असमझदारी बढ्नेछ । धेरै आम्दानी नभए पनि व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । महिनाको उत्तरार्धमा शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक सहयोगले चुनौतीपूर्ण कामसमेत सम्पादन हुनेछ । महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि र साख जोगाउन सफल भइनेछ । स्वास्थ्यका लागि मौसमी समस्याबाट सजग रहनुहोला ।

तुला :
काममा प्रतिस्पर्धा गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन् । आँटले काम लिँदा मनग्य फाइदा हुनेछ । विभिन्न अवसर प्राप्त हुनेछन्। आर्थिक समस्या सुल्झनेछ र भौतिक साधनसमेत जुटाउन सकिनेछ । प्रतिस्पर्धाको दौडमा विजय प्राप्त हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम थालनी हुने समय छ । शत्रुबाधा हट्नेछ भने रोग निवारण हुनेछ । भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ र आर्थिक पक्ष सबल बन्नेछ । महिनाको उत्तरार्धमा भने पारिवारिक असमझदारीले वादविवाद निम्त्याउन सक्छ । अवसरका लागि बलजफ्ती काम गर्नुपर्ने आवश्यकता पर्ला । प्रेमको बन्धन समेत कमजोर हुनेछ । तापनि सामान्य उपलब्धिलाई गुणात्मक बनाउन सकिनेछ ।

बृश्चिक :
स्वास्थ्यमा मौसमी समस्याले सताए पनि अध्ययन र व्यवसायमा राम्रै फाइदा हुनेछ । प्रयत्न गर्दा लेखन कलामा निखारता आउनेछ । आँटेका काममा केही विलम्ब भए पनि शुभचिन्तकहरूको साथ जुट्नेछ । सन्तानका माध्यमबाट पनि लाभ मिल्नेछ । टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ । नोकरी तथा पेसा–व्यवसायमा फाइदा हुनेछ । बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार ल्याउनेछ भने अड्किएका काम पुनः प्रारम्भ हुनेछन् । क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ । देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ । उत्तरार्धमा प्रेम र मित्रताको बन्धन पनि प्रगाढ हुनेछ ।

धनु :
अवसरका लागि विभिन्न चुनौतीसँग जुध्नुपर्ला । उच्च महत्त्वाकांक्षाले सामूहिक चेतना खलबल्याउन सक्छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउनाले आफन्तमाझ एकताको भावना विखण्डित हुनेछ । आफ्ना कमजोरीप्रति साथीभाइले गुनासो गर्नेछन् । स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो तथा घाँटीको समस्या बढ्न सक्छ । महिनाको उत्तरार्धमा सत्पात्रको संगतले व्यवहारमा सुधार ल्याउनेछ । टाढिएका आफन्त नजिकिनाले स्थिति अनुकूल बन्नेछ । लचिलो व्यवहारले समस्याको गाँठो फुकाउन सकिनेछ । कृषि तथा व्यवसायमा सम्भावनाका नयाँ क्षेत्र फेला पर्नेछन्। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ । बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई विशेष फाइदा हुनेछ । सामान्य काममा अलमलिनु भन्दा दिगो अवसरका लागि प्रयत्न गर्नुहोला ।

मकर :
आकस्मिक समस्याले केही खर्च तथा केही नोक्सान गराउने सम्भावना देखिएकाले महिनाको प्रारम्भमा सावधानीपूर्वक काम र व्यवहार गर्नुहोला । धनमाल सुरक्षामा विशेष सावधानी अपनाउनुहोला । तर निराश नहुनुहोस्, अग्रजहरूको सहयोग जुट्नेछ र धेरै समस्या स्वतः समाधान हुनेछन् । यस महिनामा पुरुषार्थी कामले सफलताको उचाइमा पुर्याउनेछ । नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ । प्रतिष्ठित व्यक्तिहरू सहयोगी बन्नेछन् । तारिफयोग्य कामको यश लिने अवसर प्राप्त हुनेछ । उद्योग र व्यापारमा मनग्गे फाइदा हुनेछ । महत्त्वाकांक्षी काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि हट्नेछन्। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै जीवनशैलीमा परिवर्तन आउनेछ ।

कुम्भ :
महिनाको प्रारम्भमा प्रशस्त आम्दानी हुनेछ भने नसोचेको रकम समेत हातलागी हुन सक्छ । तर खर्चालु प्रवृत्ति बढ्ने हुँदा सजग रहनुपर्नेछ । पछिसम्मलाई रकम जोहो गर्ने प्रयास गर्नुहोला । अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ । शक्तिका लागि धन खर्च हुनेछ । आत्मसम्मानका लागि संघर्षमा उत्रनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यमा पनि पित्तदोषले केही समस्या निम्त्याउनेछ । टाउको दुख्ने, पिनास, आँखा वा दाँतसम्बन्धी समस्याले सताउन सक्छ । सुरुमा बल प्रयोग गर्नाले काममा बाधा हुनेछ । अभिव्यक्तिको लय कठोर बन्नाले शुभचिन्तकहरू टाढिन सक्छन् । वादविवादमा अघि नसर्नुहोला । लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ । उपकरणको मर्मत–सम्भारमा धन खर्च हुनेछ ।

मीन :
केही आन्तरिक समस्याले सताए पनि यो महिनामा गरिएको कर्मसाधनाले लक्ष्यमा पुर्याउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। तर केही द्वन्द्व र आलोचना जस्ता सामाजिक विघ्नबाधासँग भने संघर्ष भइरहनेछ । ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले सताए पनि चैतन्य शक्ति जागृत हुनेछ । आत्मविश्वास र दृढसंकल्पले कर्मसाधनामा सफलता प्राप्त हुनेछ । आफ्नो क्षेत्र, वर्ग र समाजलाई समेत बाटो देखाउन सफल भइनेछ । नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ । तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ । आत्मसम्मानका साथ आम्दानी बढ्नेछ । विदेश ताक्नेहरूलाई पनि यात्रा तथा उत्तम रोजगारीको अवसर जुट्नेछ । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । अन्त्यमा राशिफलले जेसुकै भने पनि तपाई निराश नहुनुहोस । कर्ममा विश्वास गर्नुस । लगनशील भएर निरन्तर काम गर्नुस । सफलताले तपाईलाई अवश्य चुम्नेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।