प्रधानमन्त्री ओलीको उपचार खर्च कति आयो हेर्नुहोस

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्दा ५ देखि ६ लाख रुपैयाँ खर्च लागेको त्रिवि शिक्षण अस्पतालले खुलासा गरेकाे छ । गत बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

शुक्रबार प्रधानमन्त्री डिस्चार्ज भई बालुवाटार निवास फर्केपछि पत्रकारसँग कुरा गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले उपचार खर्च पुरै हिसाब गरि नसके पनि ५ देखि ६ लाख लागेको खुलासा गरे । अब प्रधानमन्त्रीको स्वास्थ्यको रेखदेख निजी चिकित्सक र नर्सहरुले बालुवाटारमै गर्ने उनले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली फागुन १९ गते साँझ अस्पताल भर्ना भएका थिए । २१ गते प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनी भने बुधवार डिस्चार्ज भइसकेकी छिन् । प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गरेको र प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि आए आज(शुक्रवार) प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

मिर्गौला प्रत्यारोपणका लागि विदेशी अस्पताल लगिने चर्चाका बीच प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण डा. प्रेम ज्ञवालीको नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा १६ जना चिकित्सक सहभागी थिए ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा ६, मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा ६, एनेस्थेसिया तथा क्रिटिकल केयर टोलीमा ४ गरी १६ जना चिकित्सक सहभागी भएका थिए । स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि सामान्य अवस्थामा फर्कन प्रधानमन्त्री ओलीलाई ६ महिनादेखि १ वर्षसम्म लाग्ने चिकित्सकले बताएका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई सामान्य मानिसजस्तै हिँडडुल गर्न अझै ६ महिना लाग्ने उनीहरुको भनाइ छ । प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा दिव्या सिंहका अनुसार पूर्ण रुपमा संक्रमण मुक्त हुन तथा सामान्य मानिसजस्तै हिँडडुल गर्न प्रधानमन्त्रीलाई ६ महिना लाग्न सक्छ ।

‘औषधिको डोजहरु बढी भएका कारण अहिले उहाँलाई संक्रमणको डर रहन सक्छ । उहाँले पहिला पनि मिर्गौलाको प्रत्यारोपण गरेको र उहाँको परिवारलाई पनि यससम्बन्धी ज्ञान भएको हुनाले त्यति संकट नआउला । तैपनि अहिले पूरै पब्लिकमा गएर, भिडभाडमा जान हामीले सल्लाह दिँदैनौं,’ मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा सिंहले भनेकी थिइन् ‘उहाँले आफ्ना दैनिक कार्यहरु आफ्नो अफिसबाट, सचिवालयबाट गर्न सक्नुहुन्छ । खास गरेर रुघाखोकी लागेका र अरु संक्रमण भएका मानिसबाट जोगिनुपर्ने हुन्छ । एकदमै सक्रिय भएर सामान्य मानिसले जस्तै काम गर्न उहाँलाई अझै वर्षदिन, ६ महिना लाग्न सक्छ ।’

बालुवाटार फर्किएका प्रधानमन्त्रीलाई ‘कन्ट्रोल रुम’ मा राखिने
‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कनेछु’, दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए ।

आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकद्वारा मिर्गौलाको सफल प्रत्यारोपण गरी त्यही थप ऊर्जा र आत्मविश्वास लिएर प्रधानमन्त्री शुक्रबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट ‘डिस्चार्ज’ भएका छन्। प्रधानमन्त्री ओलीलाई बालुवाटारमा बुबामोहनबहादुर ओलीले आशीर्वाद दिएका थिए। डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले यही फागुन २१ गते बिहान करिब १० बजे प्रत्यारोपण सुरु गरेको थियो। करिब ५ घण्टा लगाएर प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा सङ्ग्रौलाले एउटा मिर्गाौला दान गरेकी थिइन्। यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। पहिलो पटक प्रत्यारोपण गरेको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीले गत कात्तिकदेखि नियमित डायलसिस गराउँदै आएका थिए।

डिस्चार्जअघि उनकी धर्मपत्नी राधिका शाक्य, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत अस्पताल पुगेका थिए। प्रधानमन्त्री ओली शिक्षण अस्पतालको अतिविशिष्ट व्यक्तिका लागि छुट्टयाइएको ‘डिलक्स’ कक्षमा भर्ना भएका थिए। उनलाई ६०१ नं शय्यामा भर्ना गरिएको थियो। प्रधानमन्त्रीले स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने निर्णय लिएपछि यसलाई शिक्षण अस्पताल चिकित्सकले अवसरका रुपमा लिएको जनाएका थिए।

त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागका प्रमुख एवं प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले शिक्षण अस्पतालका चिकित्सकमाथि भरोसा गरी उपचार गर्ने अवसर दिएको भन्दै आफूहरु गौरवान्वित भएको बताइन्। डिस्चार्जपछि प्रधानमन्त्री समयसमयमा ‘फलोअप’ मा रहनुपर्ने र आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै काम गर्न सक्ने उनले बताए।

प्रधानमन्त्रीलाई ‘कन्ट्रोल रुम’मा राखिने
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीका प्रमुख प्राडा उत्तमकुमार शर्माले उनमा कुनै सङ्क्रमण नभएको र पूर्ण स्वास्थ्यलाभ भएपछि नै डिस्चार्ज गरिएको जानकारी दिए। प्रधानमन्त्रीलाई कुनै सङ्क्रमण नहोस् भनेर बालुवाटारमा ‘कन्ट्रोल रुम’ को बन्दोबस्त गरिएको छ। शल्यक्रियापछि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। ‘उहाँको शरीरमा पाइप र टाँका रहेका छन्। घाउ हेरेर पाइप र टाँका एक/दुई दिनमा निकालिने छ’, उनले भने, ‘सबै पारामिटर हेरेर प्रधानमन्त्रीको शरीरमा राखिएको सबै पाइप निकालिने छ। उहाँलाई इन्फेक्सनको डर छ, उहाँमा सङ्क्रमण नहोस् भनेर बालुवाटारमा पनि चिकित्सकको निगरानीमा राखिने छ।’

अहिले प्रधानमन्त्रीको शरीर कमजोर रहेको उनको भनाइ थियो। ‘कीटाणुले आक्रमण गर्न सक्छ, त्यही भएर औषधि खाइरहनुपर्छ। तीन महिनासम्म आराम गर्नुपर्छ’, डा शर्माले भने, ‘साधारण काम गर्न सक्नुहुन्छ, प्रत्यक्ष कुराकानी गर्न मिल्दैन, ठूलो शल्याक्रिया पछाडि हिँडडुल गर्न अप्ठ्यारो भएकाले उहाँलाई समातेर लगिएको हो।’

सार्वजनिक कार्यक्रममा तत्काल सहभागी हुन नहुने र प्रधानमन्त्रीको शारीरिक अवस्था हेरेर यसबारेमा सुझाव दिइने उनले बताए। उनको अवस्था सन्तोषजनक भएपछि डिस्चार्ज गरिएको हो। उनको नियमित स्वास्थ्य परीक्षण गरिने छ। प्रधानमन्त्रीलाई बालुवाटारमा भए पनि चिकित्सकको निगरानीमा राखिनेछ। संचारकेन्द्र संवाददाता

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।