नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने प्रधानाध्यापकविरुद्ध मुद्दा

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२७ फागुन ।

डडेल्धुरामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने प्रधानाध्यापकविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाको भूमिराज प्राथमिक विद्यालय बडममा प्रधानाध्यापक पदमा कार्यरत राहत शिक्षक कलापतिदेवी अवस्थीविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रअ अवस्थीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

कलापति कुमारी शर्मा भन्ने उनले कलापतिदेवी अवस्थीको नामबाट शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको भन्दै परेको उजुरीमाथि छानविन गर्दा पुष्टि भएकाले कारबाहीको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

उनले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, इलाहाबाद भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी २०५७ सालको मंसिरदेखि भूमिराज प्राथमिक विद्यालयको निजी स्रोतमा र मिति २०६१ सालको पुसमा राहत दरबन्दीमा नियुक्ति भई सरकारी सुविधा एवं लाभसमेत लिएको अख्तियारको ठहर छ ।

अवस्थीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन माग गरिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।