भारतमा कोरोनाबाट एकैदिन ५ सयको मृत्यु, ९३ हजार भन्दा बढिमा संक्रमण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ चैत्र ।

कोरोनाको दोस्रो लहरमा भारत ‘संक्रमणको हटस्पट’ बन्न पुगेको छ । पछिल्ला दिनमा भारत कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित देश भएको छ ।

शनिबार मात्रै भारतमा ९३ हजार जनामा संक्रमण पुष्टि भएको छ भने ५०० भन्दा धेरै मानिसको ज्यान गएको छ । विश्वमा यो सबैभन्दा उच्च हो। र, करिब पाँच महिनापछि भारतमा फेरि कोरोना संक्रमण तीब्र गतिमा फैलिइरहेको छ ।

शुक्रबारभन्दा अघि ब्राजिलमा भारतभन्दा धेरै संक्रमित फेला परेका थिए । त्यो दिन भारतमा करिब ६९ हजारमा संक्रमण पुष्टि भएको थियो भने ब्राजिलमा करिब ७२ हजार संक्रमित फेला परेका थिए ।

साताभरिको औसत संक्रमिमत र मृत्यु हुनेको संख्यालाई हेर्ने हो भने भारत सबैभन्दा धेरै प्रभावित भइरहेको छ । गत वर्षको सेप्टेम्बरतिर भारतमा दैनिक ९० हजारभन्दा धेरै संक्रमित फेला परेका थिए । त्यसयता फेरि ९० हजारभन्दा धेरै संक्रमित भेटिन थालेका छन् ।

अहिले त्यही रफ्तारमा भारतमा संक्रमण बढिरहेको छ । मृत्यु हुनेको संख्या पनि त्यही रफ्तारमा बढिरहेको छ । भारतमा अहिलेसम्म १ लाख ६४ हजार १ सय १० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । भारतका कतिपय ठाउँमा फेरि लकडाउन सुरु भएको छ । भारतपछि ब्राजिल र फ्रान्सले कोरोना कहर झेलिरहेका छन् । फ्रान्समा तेस्रो पटक राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ ।