विश्व बजारमा तेलको मूल्य २५ प्रतिशतले गिरावट

हाम्रो सन्देश संवाददाता

न्यूयोर्क,२६ फागुन ।

कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रतिब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ ।

लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ ।

यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत गिरावट आएको छ, र पाँच वर्ष यताकै यो सबैभन्दा ठूलो नोक्सानी हो ।

मूल्यलाई स्थिर राख्न उत्पादनमा के कति कटौती गर्ने भन्ने विषयमा ठूला तेल उत्पादक राष्ट्रहरू साउदी अरेबिया, रसिया र अरु तेल उत्पादक मुलुकहरुबीच मतैक्य नभएपछि यस्तो समस्या आएको हो ।

विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली शेयर बजारमा व्यापक गिरावट आएको छ ।

तेलको मूल्यमा गिरावट आउँदा दक्षिण कोरिया, जापान र चीनलाई फाइदा पुग्ने अवस्था देखिए पनि विषम अस्थिरताले अर्थतन्त्रलाई ठूलो नोक्सानी गर्नेछ ।

मानिसको यात्रामा कटौती भएका कारण ऊर्जाको मागमा कमी आएको छ ।

कोरोनाभाइरसका कारण अर्थतन्त्रको गति सुस्त हुनुको अर्थ मागमा कमी आउनु पनि हो ।

एक्सीकर्पका प्रमुख बजार रणनीतिकार स्टिफेन इन्सले साउदी अरेबियाले बजार हिस्सा ओगट्ने उद्देश्यसहित तेलको उत्पादन अझ बढाउन सक्ने बताए ।

विश्व तेल बजारमा यस्तै तर्क विगतमा पनि गरिएका थिए ।

सन् २०१४ मा ओपेकले अमेरिकी तेल नीतिमा आएको फेरबदललाई ध्यानमा राखी तेल उत्पादन कटौती गर्नुको साटो बढाएको थियो ।

यसबाट १०० अमेरिकी डलर प्रति ब्यारेल पुगिसकेको तेलको मूल्य सन् २०१५ मा ४० डलरभन्दा तल झरेको थियो ।

अमेरिकी शेयर बजार पनि गत महिनाको तुलनामा १२.२ प्रतिशतले घटिसकेको छ । रासस

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।