ओली सरकारको दुई वर्ष देशका लागि दुर्भाग्यपूर्ण : डा. भट्टराई

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२६ फागुन ।

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईवर्ष देशका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।

पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन घोषणा कार्यक्रममा डा. भट्टराईले उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै बितेको दुई वर्षमा जनताले केही पनि नपाएको बताए ।

दुई तिहाइको बहुमत प्राप्त सरकारले सामाजिक, राजनीतिक र विकास परिवर्तनको क्षेत्रमा छलाङ मार्नेगरी काम गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको लगायतका क्षेत्रमा सरकारले गर्न सक्ने काम समेत नगरेको भट्टराईको आरोप छ । भ्रष्टाचार, नातावाद कृपावाद र आपसी झै—झगडाका कामहरु समेत सरकारले गरेको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले अहिलेको सरकारको भविष्य सकिएको टिप्पणी गरे ।

अर्को निर्वाचन आउँदासम्म देश नयाँ ध्रुविकरणसम्म जाने भन्दै उनले त्यसको तयारीमा लाग्न जिल्ला कमिटिहरुलाई निर्देशन दिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।