चीनका राष्ट्रपतिले गरे प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२४ फागुन ।

चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई आज एक सन्देश पठाएर हालै उहाँले मिर्गौला प्रत्यारोपण गर्नुभएको जानकारी प्राप्त भएको उल्लेख गर्दै चीन सरकार, त्यहाँका जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहनु्भएका राष्ट्रपति सीले सन्देशमा दुई देश तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीचको सम्बन्धलाई थप विस्तार गर्दै त्यसलाई गतिशील बनाउन तथा दुई देशका जनताको हितका खातिर द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको उल्लेख गर्नुभएको छ ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।