प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन समिक्षा राजी हुनुको कारण

हाम्रो सन्देश संवाददाता

फागुन २१, काठमाण्डौं ।

मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता हासिल गरेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका दाता समिक्षा संग्रौला भर्ना भइसकेका छन् ।

डा. प्रेमराज ज्ञवालीको टोलीले मिर्गौला प्रत्यारोपण गर्नेछ । गएको मंसिरमा नै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि तयारी भएको थियो, उनै समिक्षाले मिर्गौला दिन त्यसबेलै पनि राजी थिइन् ।

सोमबार दिउँसो अस्पतालमा स्वास्थ्य परिक्षण गर्न पुगेपछि समिक्षा सार्वजनिक भएकी थिइन् । आफ्नो मिर्गौला आफन्तलाई दिन नमान्ने समाजमा समिक्षा तयार हुनुका केही कारण खोलेकी छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई जनताको सपना पूरा गराउने मानक भएका कारणले नै बचाउनका लागि मिर्गौला दिन राजी भएको उनले बताएकी छन् ।

प्रधानमन्त्री ओलीले देखाएका मुलुक समृद्धिको सपनालाई उनकै जीवनकालमा पूरा गराउनका निम्ति मिर्गौला दान गर्ने निर्णयमा पुगेकी समिक्षाले भनेकी छन्,‘यो मिर्गौला ओलीका लागि होइन, नेपालको भोलीका लागि हो ।’

समिक्षाको आत्मविश्वास जस्तै प्रधानमन्त्री सोमबार साँझ अस्पताल जानुअघि निक्कै प्रफूल्लित र आत्मविश्वासमा थिए । उनले देशको सपनालाई पूरा गर्नका लागि स्वस्थ्य भएर फर्किने भिडियो सन्देश जनताका लागि सार्वजनिक गरेका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।