नि:शुल्क सार्वजनिक यातायात सेवाका लागि लक्जमबर्ग संसारकै पहिलो देश

हाम्रो सन्देश संवाददाता

फागुन २१, काठमाण्डौं ।

लक्जम्बर्ग आफ्ना सबै नागरिकलाई निशुल्क सार्वजनिक यातायात प्रदान गर्ने संसारकै पहिलो देश बनेको छ । फेब्रुअरी २९ देखि लक्जमबर्ग सबै नागरिकका लागि सार्वजनिक यातायात निस्शुल्क प्रदान गर्ने पहिलो देश बनेको हो ।

आजदेखि लक्जमबर्गका नागरिकहरुले बस, रेल तथा ट्राममा यात्रा गर्दा पैसा तिर्नु पर्नेछैन । यो सेवा आम नागरिकले २४ घन्टा नै पाउने छन् ।

लक्जमबर्गका पब्लिक वक्र्स मिनिस्टर फ्रान्कोइस बौसले निस्शुल्क यातायात सेवा लागू भएको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँ डेमोक्रेटिक पार्टी, लेफ्ट र ग्रीन्स पार्टीको संयुक्त सरकार छ ।
सन् २०१८ मा लक्जमबर्ग नयाँ सरकार बन्ने समयमा सार्वजनिक यातायात निस्शुल्क बनाउने घोषणा गरिएको थियो । लक्जमबर्गमा ६ लाख नागरिक रहेका छन् । झण्डै दुई लाख विदेशी कामदार र वर्षमा घुम्नका लागि आउने लाखौँ पर्यटकले पनि यो सुविधा प्राप्त गर्ने भएका छन् ।
देशमा बढ्दो सवारी चापलाई कम गर्न यस्तो योजना लागू गरिएको सरकारले जनाएको छ । लक्जमबर्गमा हरेक ५ जनामा एक जनाले मात्र सार्वजनिक यातायात प्रयोग गर्छन् । अब यो संख्या बढेर ३ पुग्ने अनुमान गरिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।