प्रधानमन्त्री भेट्न अस्पताल पुगेका अध्यक्ष प्रचण्डलाइ ओलीको यस्तो सन्देश

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मृगौला प्रत्यारोपण उपचार सफल हुनेमा आफू शतप्रतिशत विश्वस्त रहेको नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई बताएका छन् ।

प्रधानमन्त्री ओलीको भोलि बिहान नौ बजे त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मृगौला प्रत्यारोपण गरिँदैछ । मृगौला प्रत्यारोपणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड राति आठ बजे अस्पताल पुगेका थिए ।

त्यसैक्रममा प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण सफल हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् । करिब १५ मिनेटको भेटमा प्रचण्डले ओलीको सफल उपचार र स्वास्थ्य लाभको कामना गरेका थिए । ओलीको जवाफ थियो, ‘सफल उपचार हुन्छ भन्नेमा कन्फिडेन्ट छु । चिन्ता लिनु पर्ने स्थिति छैन ।’

केही साताअघि शल्यक्रिया भएको एपेन्डिसाइटिसको अवस्था पनि अहिले सामान्य रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले यसले गर्दा पनि मृगौला प्रत्यारोपणमा अनुकुलता थपिएको उल्लेख गरेका थिए । साथै उनले आफ्नो उपचारका लागि विदेशबाट समेत चिकित्सकहरू आइपुगेको जानकारी गराएका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।