भित्र प्रधानमन्त्रीको उपचार, बाहिर चासो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० फागुन ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा मान्छेहरुको चहलपहल बाक्लै छ । उपचार गराउन आउने अनि उपचार गराएर फर्किंने । त्यस्तै अस्पताल भर्ना गरिएकालाई आफ्न्त भेट्न आउने । त्यसका साथै शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीको आउजाउले पनि माहोल भरिभराउ देखिन्छ ।

अस्पताल परिसरमै टेन्ट गाढेर डाक्टरको एक टोली ‘विश्व श्रवण दिवस’ पनि मनाउँदैछन् ।

अस्पतालका यी नियमीत प्रक्रिया भन्दा पर शिक्षण अस्पतालमा अर्को पनि चहलपहल बढ्तै देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि १९ फागुन(सोमबार) शिक्षण अस्पताल भर्ना भएसँगै अस्पतालको माहोल बद्लिएको छ ।

अस्पताल परिसरमा छिर्ने हरेक व्यक्तिमाथि सुरक्षाकर्मीका नजर परिरहेका छन् । सुरक्षाकर्मीले प्रत्यक्ष चेक जाँच नगरे पनि सुरक्षाकर्मीको सक्रियता भने अस्पताल परिसरमा बाक्लो देख्न सकिन्छ । सोमबार (१९ फागुन) शिक्षण अस्पताल भर्ना भएका ओलीको २१ फागुन (बुधबार) मृगौला प्रत्यारोपण हुने सेडुअल छ ।

प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पतालको ‘सी’ ब्लकको ६०१ नम्बर कोठामा राखिएको छ । प्रधानमन्त्री ओली राखिएको कक्षतर्फ जान निषेध गरिएको छ । क्यामेरा बोकेका सञ्चारकर्मीलाई त प्रधानमन्त्रीको गाडी पार्क गरिएको स्थलसम्म जान पनि सुरक्षाकर्मीले रोकिरहेका छन् ।

प्रधानमन्त्रीलाई राखिएको भवन छिर्ने ढोकामा उभिएका सुरक्षा गार्डले अस्पतालमा भर्ना गरिएका बिरामी कुरुवालाई पास देखाएर मात्र छिर्न दिएका छन् । पास नभएका व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।

अस्पताल परिसरमा बाक्लै मात्रामा सुरक्षाकर्मी परिचालन गरिए पनि अन्य सेवाग्राहीलाई भने अप्ठेरो परेको छैन् । आफन्तलाई भेट्न अस्ताल पुगेका गणेश कार्कीले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीको उपचार यहाँ हुँदैछ भन्ने थाह पाएका छौँ । तर, हामीलाई आउजाउमा केही समस्या छैन् ।’

प्रधानमन्त्रीको सुरक्षार्थ भन्दै अस्पताल परिसरमा सशश्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खटिएको छ । यसबाहेक प्रधानमन्त्री चढ्ने गाडी र अगुवा, पछुवा गाडी पनि अस्पताल परिसरमै राखिएको छ ।

सधैँ हतार र दौडाहमा रहने प्रधानमन्त्रीका अगुवा पछुवा गाडी र चालकले अहिले राहत पाए झैं लाग्छ । अगुवा पछुवा गाडीका चालक तथा सुरक्षाकर्मी गाडी भित्र निदाई रहेका र गफिंदै सुस्ताई रहेका देखिन्छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी यसअघि विभिन्न समाचार आएका थिए । त्यसैले एसपटक भने ओलीको मृगौला प्रत्यारोपणको सूचनामा एकरुपता ल्याउन भन्दै हरेक दिन साँझ पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

पत्रकारलाई अपरेसन थिएटर र प्रधानमन्त्री राखिएको भवनभित्र प्रवेशमा रोक लगाईए पनि अस्पताल परिसरमा धेरै पत्रकार सूचना पर्खिरहेका देखिन्छन् । हातमा क्यामेरा लिई चनाखो भएर प्रधानमन्त्री राखिएको भवनतर्फ नियालीरहेका पत्रकार अस्पताल परिसरमा भेटिन्छन् ।

शिक्षण अस्पतालमा अध्ययनरत विदार्थी पनि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको विषयमा गफिरहेका देखिन्छन् । अस्पताल परिसरमा ओहोर दोहोर गरिरहने विद्यार्थीहरु प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण आफू पढिरहेको अस्पतालमा हुँदै गरेको गर्व मानिरहेका छन् ।

प्रधानमन्त्री ओलीले भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा २०६४ सालमा पहिलोपटक मृगौला प्रत्यारोपण गरेका थिए । २०७० यता प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिदै आएको छ । सागर चन्द/नयाँ पत्रिका डेली

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।