कोरोना भाइरसको संक्रमण फैलन नदिन विमानस्थलमा उच्च सतर्कता

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० फागुन ।

कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सम्बन्धित निकायहरुले सर्तकता अपनाउन सुरु गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना भाइरस फैलिन नदिन सतर्कता अपनाउन विश्वव्यापी रुपमा भएको अभ्यासहरुलाई अध्धयन गरेर प्रतिवेदन तयार गरिरहेको जानकारी दिइएको छ । प्राधिकरणका २ जना प्रतिनिधिहरु सम्मिलित समिति बनाइ सोमबारसम्म रिपोर्ट तयार गरिन लागिएको प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले जानकारी दिएका हुन् ।

उक्त प्रतिवेदन सोमबार प्रधानमन्त्री समक्ष पेश गरिने बताइएको छ । यात्रा परामर्श (ट्राभल एडभाइजरी) जारी गर्ने वा नगर्ने सम्बन्धमा त्यसपछि मात्रै निक्र्यौल गरिने पौडेलले बताए ।

यता, अन्तर्राष्ट्रिय विमानस्थलले पनि यात्रुहरुको आवागमनमा निर्देशात्मक र जनचेतनामूलक कुराहरु माइकबाट नै उद्घोष गर्न सुरु गरेको विमानस्थलका प्रवक्त देव चन्द्रलाल कर्णले जानकारी दिए । थर्मल स्क्यानरमा जानुअघि तपाइ थर्मल स्क्यानरमा जाँदै हुनुहुन्छ भन्ने किसिमको उद्घोष गर्न सुरु गरिएको छ । यस्तै, थर्मल स्क्यानरबाट स्क्यानसँगै नेपाल भित्रिने प्रत्यक यात्रुहरुलाई लेजर गनबाट तापक्रम मापन गर्न पनि सुरु गरेको छ । साथै सबै यात्रुलाई लिकुइड सानिटाइजर छर्किने काम पनि सुरु भएको कर्णले बताए । त्रिभुवन विमानस्थल पोर्टबाट हरेक दिन साढे ६ हजार यात्रु नेपाल भित्रिन्छन् ।

विमानस्थलमा २ वटा थर्मल स्क्यानर रहेकोमा एउटा मात्रै प्रयोगमा रहेको छ । नेपाल भित्रिने यात्रुहरुलाई स्क्यान गर्न एउटा स्क्यानर पर्याप्त भएको उनको भनाइ रहेको छ । नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको हकमा पनि सबैको तापक्रम नापेर मात्र उडान भर्न दिन सबै एयरलाइन्सहरुलाई निर्देशन दिइएको कर्णले जानकारी दिए ।

नेपाली ध्वाजाबाहक नेपाल वायु सेवा निगमले अहिले उडान रद्द गर्ने कुनै तयारी नरहेको जानकारी दिएको छ । हाल निगमले ९ स्थानमा अन्तर्राष्ट्रिय उडान भर्दै आइरहेको छ । निगमले दिल्ली, बैंकक, क्वालालामपूर, बैंगलुर, हङकङ्ग, दोहा, दुबइ, मुम्बई र ओसाकामा उडान गर्दै आइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलिले शनिबार मन्त्रीस्तरीय बैठक डाकेर कोरोना भाइरसको जोखिमका सम्बन्धमा पछिल्लो अवस्थाकाबारेमा जानकारी लिदै सम्बन्धित मन्त्रालयहरुलाई त्यसै अनुरुप कार्य गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा कोभेड १९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ । यसपछि पर्यटन मन्त्रालयले यो मार्च महिनामा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी बाह्य प्रचारप्रसार नगर्ने र कुनै पनि किसिमको अन्तर्राष्ट्रिय सभा सम्मलेनमा नेपालले सहभागिता नजनाउने निर्णय गरेको छ ।

कोरोना भाइरस नेपालमा फैलिन सक्ने जोखमलाई ध्यानमा राखेर भ्रमण वर्षलाई नै स्थगित गर्नुपर्ने धारणा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज उपाध्यायको रहेको छ । भ्रमण वर्षको लागि सरकारी तयारी नै नपुगेको र अहिलेको कोरोनाको महामारीमा भ्रमण वर्षलाई अर्को कुनै वर्ष सार्न सकिने उनको भनाइ छ । नेपाल भ्रमणको क्रममा कुनै पर्यटकमा कोरोना संक्रमण देखिएर आवश्यक उपचार दिन सकिएन भने विश्वमा त्यसले नकारात्मक असर पार्न सक्ने भएकोले सरकारले भ्रमण वर्ष स्थगित गर्न जरुरी रहेको उनको तर्क छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।