उड्न लागेको विमानभित्र परेवाको मस्ती

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१७ फागुन ।

भारतको अहमदावाद विमानस्थलमा उड्न लागेको एउटा विमानभित्र परेवा फेला परेपछि केहीबेर विमानस्थल मै खैलाबैला मच्चिएको छ । शुक्रबार अहमदावादबाट जयपुरका लागि उड्न लागेको गो एयरको विमानभित्र परेवा फेला परेको हो ।

‘जी८–७०२’ विमान ‘टेक अफ’ का लागि तयार हुँदै गर्दा विमानभित्र परेवा देखिएपछि यात्रु र चालक दलका सदस्य चकित भएका थिए । विमानभित्रै उक्त परेवा उड्न थालेपछि केही यात्रीले भिडियोसमेत बनाएका थिए ।

शुक्रबार दिउँसो ४ः३० बजे एप्रोनमा ल्याइएको उक्त विमानमा सबै यात्री चढिसकेपछि ढोका बन्द गरिएको थियो । ४ः५० बजे ‘टेक अफ’का लागि रन वेमा पुग्नु अघि नै उक्त विमानभित्र परेवा देखिएको हो । विमानमा सवार यात्रीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार एक यात्रीले ‘ह्यान्ड ब्याग’ राख्नका लागि ‘लगेज शेल्फ’ खोल्नासाथ परेवा निस्किएको थियो ।

केहीबेर विमानभित्रै परेवा यता–उता उड्न थाल्यो । विमानको अघिल्लो भागदेखि पछिल्लो भागसम्म परेवाले केहीबेर फन्को लगाइरह्यो । यात्रु र विमानका कर्मचारीले पनि केहीबेर परेवाको मस्ती हेरिरहे ।
विमानका कर्मचारीले ‘ग्राउन्ड स्टाफ’लाई घटनाबारे जानकारी गराएपछि विमानको उडान स्थगित गरी ढोका खोलियो । निकै मेहनतपछि उक्त परेवालाई बाहिर निकाल्न सफल भएको यात्रुहरुको भनाइ छ । परेवालाई निकालेपछि निर्धा्रित समयभन्दा केही ढिलोगरी उक्त विमान जयपुरका लागि प्रस्थान गरेको बताइन्छ । उक्त परेवा त्यहाँ कसरी पुग्यो भन्ने प्रष्ट हुन सकेको छैन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।