गोकुल बाँस्कोटालाई फसाइयो, उनी निर्दाेष छन् : प्रधानमन्त्री ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१७ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटामाथि लगाइएको भ्रष्टाचारको आरोप पुष्टि नभएको भन्दै बास्कोटाको बचाऊ गरेका छन् ।राजधानीमा बिहीबार आयोजित नेकपाको बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले टेप प्रकरण अहिलेसम्म प्रमाणित नभएको भन्दै बास्कोटाले होइन भनेको र स्वीस दूतावासले पनि फ्रड भनेको भन्दै प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन भने ।

उनले सेक्युरिटी प्रेस खरिदमा कुनै डिल नै नभएको जिकीर गर्दै बास्कोटा र आफू विरुद्ध अख्यिारमा हालिएको उजुरीलाई पत्रु उजुरीको संज्ञा दिए । आफू धन कमाउन हिँडेको होइन, देश बनाउन हिँड्या हो भन्दै प्रधामन्त्री ओलीले पैसा कमाउने भए व्यापार गर्ने थिएँ भने । सरकार गरेका यत्रा सफलता र उपलब्धिको प्रचार नगरी बस्न नसकिने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विवाद भएन भने पार्टी नै नरहने भन्दै विवाद र संघर्षले नै नेकपा देशको सवैभन्दा ठूलो पार्टीको रुपमा स्थापित भएको तर्क गरे । नेतृत्व तहमा भने कुनै गम्भीर खालको विवाद नरहेको दाबी समेत गर्दै उहाँले पार्टीलाई कनै हालतमा पनि विभाजित हुन नदिने बताए । नेकपा सचिवालय वैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेपछि उत्पन्न परिस्थितिको बारेमा भने ओली र दाहाल दुवै जनाले बोल्न चाहेनन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।