प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्नुहुन्न भनेर कल्पना गर्न सकिँदैन : अध्यक्ष दाहाल

हाम्रो सन्देश संवाददाता

चितवन,१६ फागुन ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा सदस्यमा पार्टीका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने सचिवालयको निर्णय सर्वसम्मत भएकाले यसको अवज्ञा गर्ने कुरा कल्पनाभन्दा बाहिरको भएको बताएका छन्।

पत्रकारको प्रश्नमा उनले भने, “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन , उहाँले गर्नुहुन्छ। मैले त्यति बुझेको हो।” प्रधानमन्त्रीले गौतमलाई सिफारिस गरेनन् भने के हुन्छ भन्ने अर्को प्रश्नमा दाहालको जवाफ थियो– “म अहिले त्यतातिर जानै चाहान्न। मलाई विश्वास छ उहाँले पार्टीको सचिवालय समितिको बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्दिन। कसैले पनि सक्दैनन्।”

प्रेस संगठन चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले २१ गते बामदेव गौतम सदस्य हुने बताए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।