बानेश्वरमा बेहुली कुराएर पोखरा भागेका ‘बेहुला’ पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१५ फागुन ।

मंगलबार बानेश्वरको अर्पण भोजघरमा विवाहको कार्यक्रम थियो। भोजघरको गेटमा लेखिएको थियो आश्रय बस्नेत वेड्स छोरीको विवाह भएकाले केटीपक्षलाई भ्याइनभ्याइ थियो। जन्ती एघार बजे आइपुग्ने तय थियो।आफन्तहरू आउनेक्रम सुरू भइसकेको थियो।केटीको विवाह डाक्टरका छोरा इन्जिनियरसँग हुँदै थियो। त्यसैले पनि होला उनीहरूको विवाह भव्य बनाउन तीन महिनादेखि नै माइती पक्षले तयारी थालेको थियो।एक महिनाअघि आश्रय र उनकी हुनेवाली दुलही दुबै जना अर्पण भोजघरमा पुगेर फागुन १३ गतेको लागि बुकिङ गराएका थिए। विवाहमा करिब ७०० जना पाहुना पनि बोलाइसकेका थिए।केटीकी कलेजकी साथीका माध्यमबाट उनको र आश्रयको चिनजान भएको थियो। केही समयको चिनजानपछि उनीहरूले विवाहको गर्ने योजना बनाए।

आश्रयले केटीलाई सिनामंगलमा आफ्नो घर रहेको बताएका थिए। विवाहको प्रक्रिया अघि बढाउन केटीकी बुबालाई उनले हजुरआमा भन्दै एकजना वृद्धालाई भेटाएका थिए। केटीपक्षले डाक्टर भनिएका आश्रयका बुवालाई भने भेट्न पाएका थिएनन्। डाक्टर भएकाले बुवा निकै बिजी भएको भन्दै आश्रयले भेट्न दिएका थिएनन्।केटाकेटीले नै विवाहको कुरा राखेकाले माइती पक्षले पनि धेरै शंका गरेको थिएन।

१५ दिनअगाडि काठमाडौंको एक होटलमा उनीहरूको इन्गेजमेन्ट भयो।केटीपक्षले केटालाई चार तोला सुन र पाँच लाख बराबरको फर्निचर पनि दियो। मंगलबार ११ बजे जन्तीलाई स्वागत गर्न केटीपक्ष तम्तयार भएर बसेका थिए। निर्धारित समयमा आश्रय जन्ती ल्याएर आएनन्।केटी पक्षले आश्रयलाई फोन गरे। आश्रयले निराश हुँदैँआफ्नो काका बितेको कुरा सुनाए।दाहसंस्कारको काम सकेरमात्रै जन्ती हिँड्न भने।साँझको ६ बज्यो तर जन्ती आएन।जन्ती ११ बजे सम्म आइपुग्नु पर्ने थियो क्यारे तर १२ बज्दा नि आएन १ बज्दा पनि आएन हल्लाखल्ला भयो बेलुकीसम्मै आएन अर्पण भोजघरका म्यानेजर रवीन्द्र हुमागाईंले भने,पछि थाहा पाइयो केटाले ढाँटेको रहेछ, यस्तो त शत्रुलाई पनि नहोस्।ुसाँझसम्म पनि दुलहा नआएपछि केटी पक्षले बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तमा सम्पर्क गरे। प्रहरीले आश्रयको खोजतलास थाल्यो।

उनले आफ्नो भनेर देखाएको सिनामंगलको घरमा ताला लगाइएको थियो। खासमा उनी त्यहाँ भाडामा बस्दा रैछन्। प्रहरीले उनको स्केच देशभरि सर्कुलर गर्‍यो। साँझ पोखरा विमानस्थलबाट चार हजार अवैध अमेरिकी डलरसहित आश्रय भनिने साहिल बस्नेतलाई पक्राउ परे।केटी पक्ष विवाहको लागी तयार भएर बसेका थिए तर केटा आएन, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने,पछि पोखरा भागेको रहेछ विमानस्थलबाट पक्राउ गर्‍यौं।तिनै साहिलले आफूलाई आश्रय बस्नेत भन्दा रहेछन्।आफ्नो, बुबाको हजुरआमाको सबै कुरा ढाँटेको रहेछ, डिएसपी बोगटीले भने,उसले सिनामंगलमा देखाएको घर पनि कोठामात्रै रहेछ।प्रहरीले उनीमाथि अपराधिक विश्वासघात तथा ठगी गरेको भन्दै मुद्दामा जाहेरी लिएर अनुसन्धान थालेको छ।
अवैध रकम सहित भेटाएको हुँदा उनलाई बुटवलको राजश्व विभागमा बुझाएको बानेश्वर वृत्तका डिएसपी दुर्गा रेग्मीले बताए।उनका अनुसार साहिललाई काठमाडौं ल्याएर म्याद थप गरी अनुसन्धान गरिनेछ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।