बामदेब गौतमको पार्टीभित्रै तर्क सँधै मेरो विरुद्ध खेल किन ?, मलाई पार्टीबाट निकाल्नुस्

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१४ फागुन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबार बोलाएको सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफुलाई पार्टीबाट निकाल्न भनेका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सचिवालय बैठकमा गौतमले आफुलाई पार्टीबाट निकाल्न भनेका हुन् । हरेक पटक आफ्नो विषय आउनासाथ पार्टीमा विवाद हुने गरेको भन्दै गौतमले नेतृत्वलाई सोधे, ‘सँधै मेरो विरुद्ध खेल किन ? कि मलाई पार्टीबाट निकाल्नुस्, होइन भने खेल बन्द गर्नुस् ।’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नौ जना नेताहरुको उपस्थित रहेको आजको सचिवालय बैठकमा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने एजेण्डा सुनाएका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई राष्ट्रियसभा लैजानुपर्ने बताउँदै थपे, ‘संविधान संशोधन कार्यदल बनाउने समझदारी बाहिर नलैजाने भन्ने थियो तर गयो । यसले राम्रो प्रभाव परेन ।’

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले ‘बामदेवलाई राष्ट्रियसभामा लैजाने तर संविधान संशोधनलाई शर्त नबनाउने’ उपाय सुझाउँदै कार्यदललाई के गर्ने निर्णय गर्न माग गरेका थिए । त्यसपछि झलनाथ खनाल लगायत अरु नेताले पनि गौतमलाई राष्ट्रियसभामा लैजानुपर्नेमा जोड दिएका थिए ।त्यसपछि गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय भइसकेकाले मान्ने बताउँदै कार्यदललाई यताउता (भङ्ग) गरेपनि संविधान संशोधन गर्नुपर्ने धारणा राखे । उनले यसलाई शर्त भने नबनाउने बताएको सचिवालयका एक सदस्यले सुनाए ।

अघिल्लो बैठकमा अनुपस्थित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने संविधान संशोधन कार्यदल बनाउनुको कारण जान्न खोजे । उनले गौतमको माग सम्बोधन गर्न हो भने कार्यदल आवश्यक नै नपर्ने तर्क गर्दै यसको उद्देश्य राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने बाटो खोल्नु मात्र थियो कि अरु एजेण्डा पनि थिए भनेर जान्न खोजे, तर जवाफ पाएनन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।