बाँस्कोटाबारे छलफल गर्न प्रचण्ड राष्ट्रपति निवासमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० फागुन ।

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न महाराजंगस्थित राष्ट्रपति निवास पुगेका छन् ।

नेकपा केन्द्रीय सचिवालयको बैठक सकिएलगत्तै शनिबार साँझ अध्यक्ष प्रचण्ड राष्ट्रिपति निवास पुगेका हुन् । उनीले सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा ‘कमिसन डिल’ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका संचार मन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राष्ट्रपतिसँग छलफल गरेको बुझिएको छ ।

बाँस्कोटाको अडियो प्रकरणमा छानविन हुन्छ : नेकपा नेता गुरुङ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा सार्वजनिक भएको गोकुल बाँस्कोटाको अडियो प्रकरणमा सरकारले अनुसन्धान गर्ने बताएका छन् ।

काठाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी विषय जिटुजी सम्झौताबाट मात्र गर्ने भनिए पनि विना ग्लोबल टेण्डर नगरेर कुनै कम्पनीसँग सम्झौता गरेर जाने खालको देखिनु र यहीबीच मन्त्रीको अडियो बाहिरिनुले प्रश्न उठेको उनले बताए । यो विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको र त्यसको प्रतिवेदन अनुसार हुने उनको भनाइ थियो । मन्त्रीले भ्रष्टाचार गरे नगरेको कानूनी छानविन गर्न सरकार दृढ भएको र अख्तियारले छानविन गर्ने उनले स्पष्ट पारे ।

अर्को प्रसंगमा नेता गुरुङले पार्टीको केन्द्रीय कमिटीले गठन गरेको कार्यदलले एमसिसीका विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको र एमससिीका सर्तहरुमा परिमार्जन गरेर मात्र जाने सुझाव दिएकाले पार्टीले छिट्टै निर्णय गर्ने जानकारी दिए । सरकारले एमसिसीलाई निरन्तरता दिने प्रतिकृया प्रधानमन्त्री ओलीले दिए पनि पार्टीको निर्णय नै अन्तिम हुने बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द लोहनीले सेक्युरिटी प्रेसका विषयमा सार्वजनिक भएको मन्त्रीको अडियोले यसमा मन्त्रीमात्र संलग्न नभएको दावी गरे । उनले यसका पछाडि भएका सबैमाथि छानविन हुनुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले पनि नैतिकताका आधारमा राजिनामा दिनुपर्ने उनले माग गरे ।

वैदेशिक लगानी ल्याउनुपर्ने तर एमसीसीमा रहेका असमान सम्झौतामा सुधार गर्नुपर्ने उनको भनाई थियो । त्यस्तै सरकारको बजेट पूर्णरुपमा असफल भएको र बजेटले सबैतहमा भ्रष्टचारलाई विकेन्द्रीकरण गरेको उनले जिकिर गरे । धर्म निरपेक्षताको नाउँमा नेपालको संस्कृतिमाथि हमला हुँदासमेत सरकारले चासो नदिएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।