सञ्चारमन्त्री हटाएपछि प्रधानमन्त्री : कसम खाएको छु भ्रष्ट आफ्ना वा अरुका कोही छोड्दिन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवात देखि आफुले भ्रष्टाचार नगर्ने अनी गर्नेहरुको अनुहार पनि नहेर्ने बताउँदै आउँनु भएको छ । प्रधानमन्त्री ओलीले पटक–पटक भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद नगर्ने बताउँदै आउँनु भएको छ । अहिले सार्वजनिक भएको ७० करोड कमिसन प्रकरणले बजार तताएको छ ।

प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिएका तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको अडियो बाहिर आएपछि उहाँले आजै राजीनामा दिनु भएको छ । आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को बिहीबार लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले सुशासन र प्रणालीका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिनु भएको छ । बालुवाटारमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘सुशासन र सिस्टमका लागि लडेको छु । सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ ।

’ गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न एउटा स्वीस कम्पनी एजेन्टसँग कमिसन मागेको भन्दै अडिओ टेप सार्वजनिक भएको केही घन्टापछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । अडियो प्रकरणबारे बुझ्न प्रधानमन्त्री ओलीले बाँस्कोटालाई बालुवाटारमा बोलाउनु भएको थियो । यो सँगै बाँस्कोटाको राजीनामा आएको खबर बाहिर आएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।