नेपालमा फेरी अर्को संकट आउने खतरा :- भीमसेनलाई पसिना आयो, अनिष्टको संकेत !

हाम्रो सन्देश संवाददाता

दोलखा, ८ फागुन ।

प्रसिद्ध दोलखा भीमेश्वरमा बिहीबार बिहान पसिना आएको छ । भीमेश्वरमा पसिना आएपछि अनिष्ट हुने संकेतका रुपमा बुझिन्छ । पसिना आएपछि बिहीबार बिहानदेखि नै भक्तजनहरुको घुइँचो लागेको छ । अनिष्ट नहोस् भनी उनीहरुले कामना गरिरहेका छन् ।

भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १७ औं पटक पसिना आएको बताए । भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

थप क्षमा पूजाका लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ ।

यसअघि २०६२/०६३ को जनआन्दोलनको एक महिनाअघि, तत्कालिन राजा विरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भूकम्प आउनुभन्दाअघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । २०७४ असोज १० गते आएको पसिनापछि देशमा स्थानीय तह र संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास गरिन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।