सञ्चारमन्त्री बास्कोटालाई १३ किलोको माला

हाम्रो सन्देश संवाददाता

कञ्चनपुर , ८ फागुन ।

कञ्चनपुरको भीमदत्तनगरमा बुधवारदेखि १३ औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको छ। मेलाको उद्घाटन गर्न सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा कञ्चनपुर पुगेका थिए।

मेलाको उद्घाटन गर्न पुगेका मन्त्री बास्कोटालाई कञ्चनपुर उद्योग बाणिज्य संघका पदाधीकारीहरुले १३ किलोको मालाले स्वागत गरे। उद्घाटनपछि उनले मेलालाई सम्बोधन समेत गरे। सम्बोधनका क्रममा उनले एमसिसी तथा सीमा विवादका बारेमा चर्चा गरेका थिए।

मन्त्री बास्कोटाले एमसिसी नेपालको हितमा भएमात्रै लागू हुने बताए। उनले दार्चुलास्थित नेपाली भूमि फिर्ताका लागि राजनीतिक र कूटनीतिक ढङ्गबाट सरकार अघि बढेको बताए। निजी क्षेत्रले पारदर्शीरुपमा राज्यलाई कर तिर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशमै लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।

सरकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय साधन स्रोतको अधिकतम उपयोग गरी उत्पादकत्व बढाई युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति लिइएको मन्त्री बास्कोटाको भनाइ थियो। फोटो : रासस।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।