२५ औं जनयुद्ध दिवस: कार्यक्रममा प्रधानमन्त्री ओलीकाे अनुपस्थित

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,१ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

तत्कालीन नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध घोषणा गरेको सन्दर्भ पारेर नेकपाले फागुन १ मा जनयुद्ध दिवस मनाउँदै आएको छ ।

२५ औं जनयुद्ध दिवसको अवसरमा नेकपाले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सहित शीर्ष नेता सहभागी हुने भनिएको थियो ।

तर, प्रधानमन्त्री ओली भने धुम्बाराही गएनन् । ओलीको निजी सचिवालयका एक सदस्यले स्वास्थ्य समस्याका कारण ओली जनयुद्ध दिवसको कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिएका छन् ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपाले गत वर्ष पनि जनयुद्ध दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको थियो । तर, ओली गत वर्षको कार्यक्रममा पनि अनुपस्थित भएका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।