नेपाली कांग्रेसले काम गर्न दिएनः बामदेव गौतम

हाम्रो सन्देश संवाददाता

रुकुम ,२९ माघ ।

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग चिडिएका छन् ।

बुधबार रुकुमको आठबिस नगरापलिकामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता गौतम कांग्रेसमाथि खनिएका हुन् ।

उनले कांग्रेसले वर्तमान नेकपाको सरकारलाई जनताको पक्षमा देखिने गरी काम गर्न रोको बताउँदै कांग्रेसकै कारण सरकारले ढुक्क भएर काम गर्न नपाएको बताए ।

उनले भने, ‘यो सरकारले राम्रो काम गरेमा कांग्रेस थप कमजोर हुने डरले संसद अवरुद्ध गरी देशलाई अनिर्णयको बन्दी बनाइरहेको छ । यसबाट कांग्रेस अताल्लिएको छ त्यसैले जनताको काममा लाग्ने नेकपा सरकारलाई अवरोध गर्ने गरेको छ ।’

अर्को चुनावमा पार्टी थप कमजोर हुने डर कांग्रेसमा देखिएको भन्दै नेता गौतमले वर्तमान सरकारले समृद्धिका लागि काम गर्न खोजिरहेको र कांग्रेसले त्यसमा भाँजो हाल्ने काम गरेको आरोप समेत लगाए ।

कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचारको अभियोगमा अनुसन्धान गर्न मिल्दैन भनेर कांग्रेसले संसद अवरोध गर्नुको तुक नभएको नेता गौतमको टिप्पिणी थियो ।

सरकारले पार्टीको घोषणापत्रअनुसार काम गरिरहेको र वर्तमान सरकारकै पालामा देश र जनताले विकासको महशुस गर्नेसमेत अभ्ब्यिक्ति गौतमले दिएका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।