असहज भयो भन्दै सिंहदरबारमा बसिरहेको बैठकबाट बिचमै उठेर हिँडे प्रधानमन्त्री

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२६ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सहभागि हुँदै गर्दा असहज भएको भन्दै बिचमै उठेर बालुवाटार हिडेका छन् । ओलीले शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गरेका थिए। मिर्गौलाले प्राकृतिकरुपमा काम गर्न छाडेपछि उनी अहिले सातामा एक पटक डायलाइसिस गरिरहेका छन्।

शनिबारको डायलाइसिसका क्रममा असहज महसुस गरेपछि चिकित्सकहरुले ओलीलाई आइतवार दिनभरि आराम गर्न सुझाएका थिए । तर बालुवाटारमा दिउँसोसम्म आराम गरेका उनी समितिको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका थिए।

बैठकको अध्यक्षता गरेर आफ्ना कुरा राखिसकेपछि ओलीले आफ्नो स्वास्थ्यमा असहज महसुस भएको जानकारी दिएर बैठकबाट निस्किएका हुन् ।

के भने बैठकमा ?

बैठकमा प्रधानमन्त्री ओलीले तीनै तहका सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको बताए। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अध्यक्षकोतर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले काममा भएको ढिलासुस्तीले सन्तोष गर्ने ठाउँ नभएको बताएका हुन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरु पनि सहभागी हुने उक्त बैठकमा प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारको कामबाट जनताले पाउने जति लाभ पाउन नसकेको दुखेसो गरे। ओ‌लीले विकासलाई गति दिन सरकारले अहिलेको कार्यशैली फेर्नुपर्ने बताउँदै जनताले बढी भन्दा बढी लाभ लिन सक्ने अवस्था बनाउन पनि उपस्थित सहभागीलाई आग्रह गरे।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।