परस्त्रीसँग प्रेम सम्बन्ध : फोन नउठाएको भन्दै हत्या

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२६ माघ ।

फोन गर्दा नउठाएको विवादले एक व्यक्तिले विवाहित प्रेमिकाको हत्या गरेका छन् । प्रेमिकाको पासविक रुपमा हत्या गरेका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रेमिकाको हत्या गरेको आरोपमा २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरेको छ । साहमाथि सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारलाई हत्या गरेको आरोप छ ।

माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२ मा रहेको उखुबारीमा परियारको घाँटी काटिएको र घाँटीमा सलले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।

सनाखतका लागि उक्त महिलाको फोटो जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज, प्रहरी सञ्चार, टेलिभिजन, एफएमलगायतका सञ्चार माध्यमबाट हुलिया परिपत्र गरेपश्चात शव बसन्त परियारकी श्रीमती सम्झना खत्री परियारको रहेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरी अनुसन्धानको क्रममा सप्तरी जिल्ला कृष्णश्रवण गाउँपालिका–३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउपालिका–३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स कारखानामा स्टोर इञ्चार्जको रूपमा कार्यरत सुरेन्द्रप्रसाद साह र मृतक सम्झना खत्री परियारवीच विगत ३ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको खुलेको थियो । त्यसैको आधारमा प्रहरी ले साहलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार माघ २१ गते मंगलबार बिहान १० बजेदेखि मृतक परियार साहको सम्पर्कमा नरहेकाले उनले पटक–पटक फोन गरेका थिए । परियारले फोन नउठाएपछि साह उनकै घरमा भेट्न पुगेका थिए । तर, घरमा कोही फेला नपरेपछि उनी पुनः फ्याक्ट्री फर्किका थिए ।

अपरान्ह चार बजे साह पुनः परियारलाई खोज्न वरपरको क्षेत्रमा डुलिरहँदा बाँसबारी चोक अगाडि भेटेपछि उनलाई मोटरसाइकलमा चढाएर विराटनगर महानगरपालिका–१२ पुर्‍याएका थिए ।

त्यहाँ गफ गर्ने क्रममा दुई जनाबच वादविवाद भएपछि रिसको आवेगमा साहले परियारको सल घाँटीमा बेरेर तान्दै उखुबारीमा पुर्‍याएर धारिलो बाँसलाई हतियारको रुपमा प्रयोग गरी घाटी रेटेर हत्या गरेको प्रहरीको भनाइ छ ।

साहले आफूले नै परियारको हत्या गरेको प्रहरी समक्ष स्वीकारी सकेका छन् । प्रहरीले मृतक सम्झना खत्री परियारलाई घटनास्थल सम्म बोकेर लगेको मोटरसाइकल र दुईवटा मोबाइल पनि बरामद गरेको छ । विवाहइतर सम्बन्धमा रहेका कारण परियारको ज्यानै गएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।