हत्या गरी फालिएको महिलाको शव विराटनगरको उखुबारीमा

हाम्रो सन्देश संवाददाता

विराटनगर,२४ माघ ।

सुनसरीको दुहवीकी एक महिलाको हत्या गरी विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुघारीमा फालेको अवस्थामा शव फेला परेको छ ।

सुनसरीको दुहवी नगरपालिका–६ कालि मन्दिरनजिकै बस्दै आएकी ३२ वर्षीया सम्झना खत्री परियारको शव हत्या गरी फालिएको अवस्थामा उखुबारीमा फेला परेको हो ।

घाँटी रेटेर सलले बेरेको अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । अन्यन्त्र हत्या गरी शव उखुबारीमा फालेको देखिएको उनले बताए ।

निलो टल्किने आउटर, हरियो धर्के कुर्ता सुरुवाल लगाएकी महिलाको घाँटी रेटेर सलले बेरेको अवस्थामा शव भेटिएको थियो । शवनजिकै सुरुवाल पनि भेटिएको थियो । उनका श्रीमान् बसन्त परियार इलाममा टेलर्स व्यवसाय गर्दै आइरहेका थिए । बसन्तले श्रीमतीको पहिचान गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा दोस्रो व्यक्तिसँग लभ अफेयरका कारण हत्या भएको हुनसक्ने देखाएको छ । उनी मङ्गलबारदेखि हराइरहेकी सम्झना घरमा दुइ छोरा छोरीसँग बस्दै आएकी थिइन् ।

घटना शंकास्पद रहेकाले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अधिकारीले बताए । अनुसन्धानका लागि प्रहरीको तालिमप्राप्त कुकुरको पनि प्रयोग गरिएको बताउँदै उनले शवको पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको जानकारी दिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।