ललिता निवास प्रकरणमा गगन थापाको प्रश्‍न: पूर्व प्रधानमन्त्रीहरुलाई उन्मुक्ति किन ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२४ माघ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनुकमार थापाले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्री प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुमाथि पनि कारवाही हुनुपर्ने बताएका छन्।

ललिता निवासको जग्गा विक्री प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएपछि कांग्रेस आन्दोलित भइरहेका बेला थापाले यसबारे आफ्नो व्यक्तिगत धारणा सार्वजनिक गरेका हु्न्। थापाले ललिता निवासको ११३ रोपनी जग्गा विक्री प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षका हैसियतामा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि कारवाही हुनुपर्ने अडान राखेका हुन्।

‘सार्वजनिक सम्पत्ति बदनियत पूर्ण रूपमा व्यक्तिका नाममा दिने कुरा नीतिगत निर्णय हुन सक्दैन। यदि सार्वजनिक जमिन व्यक्तिको नाममा सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने प्रक्रियामा संलग्न मन्त्री दोषी हुन्छन् भने उक्त प्रस्ताव सदर गर्ने र कार्यान्वयन गर्न, गराउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री र संलग्न अन्य अधिकारीहरू उक्त अपराधबाट उन्मुक्ति पाउन सक्दैनन्’, उनले भनेका छन्, ‘कानूनको अपव्याख्या गर्दै उन्मुक्ति दिने प्रयत्न दुरासयपूर्ण छ।’

पू्र्वमन्त्रीसमेत रहेका थापाले नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरा नवीनलाई पनि अख्तियारले उन्मुक्ति दिएकोमा कडा आपत्ति जनाएका छन्।

‘सार्वजनिक जग्गा आफ्नो नाममा बनाउने र त्यसका लागि अनेकन् प्रपञ्च रच्ने व्यक्ति नवीन पौडेल (नेकपा नेता विष्णु पौडेलका छोरा) र कुमार रेग्मीलाई ‘आफ्नो नाममा कायम रहेको जग्गाहरू नेपाल सरकारलाई छाडिदिन मन्जुर गरेकोले’भन्ने तर्कका आधारमा दोषी नदेख्ने अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण देखिन्छ’, उनले भनेका छन्, ‘यो निर्णयले अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न गर्ने पर्याप्त आधार दिएको छ।’

सिंगो पार्टी नै नेता विजय गच्छदारको पक्षमा उत्रिएर आन्दोलित भएका बेला थापाले अदालतमा गएको विषयमा घुमाउरो टिप्पणी गरेका छन्। ‘नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको संलग्नताको विषय अदालतमा प्रवेश गरिसकेको छ’, उनले भनेका छन्, ‘उहाँ सही हुनुहुन्थ्यो वा गलत त्यसको फैसला अदालतले गर्नेछ।

सम्मानित अदालतले गर्ने निर्णय सबैले मान्नुपर्दछ।’ अख्तियारले बुधबार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। यसैलाई लिएर गगनको भनाइ आएको हो।

‘निर्दोष कहिल्यै पनि दण्डित हुनुहुन्न र दोषी कसैले पनि उन्मुक्ति पाउनुहुन्न’, उनले भनेका छन्, ‘पात्र, परिस्थिति र सम्बन्ध हेरेर हाम्रो धारणा बन्दैन, बदलिँदैन र बदल्नुहुँदैन भन्नेमा म प्रस्ट छु।

गगनले के भने ?

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।