ललितानिवास जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२३ माघ ।

अख्त‍ियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।

उनीहरुसँगै पूर्व मुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहित १७ जनाविरुद्ध मुद्दा नचल्ने भएको हो । मन्त्रिपरिषद्को नीतिगत निर्णय अख्तियारले हेर्न नमिल्ने भएकाले मुद्धा नचल्ने भएको हो ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनाविरुद्ध भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि रहेका छन् । ब्यापारी मीनबहादुर गुरुङविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

पूर्व सचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले भूमाफिया र उनीहरूलाई सहयोग गर्नेहरूको नामै किटेर कारवाही गनुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिआईबी र भूमि व्यवस्था मन्त्रालयले यो विषयमा अनुसन्धान गरेको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।