मोटरसाइकललाइ ट्रकले ठक्कर दिंदा उपेन्द्र र राजेन्द्रको निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ माघ ।

सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको निधन र एक घाइते भएका छन् । बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेको बिआर३०एच ६७९८ नंको मोटरसाइकललाई गोडैता नगरपालिका–७ मोहनचोकस्थित नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मलङ्गवा–२ निवासी २० वर्षीय उपेन्द्र साह सोनारको घटनास्थलमै निधन भएको छ । सोही मोटरसाइकलको पछाडि बस्ने मलङ्गवा–२ का २० वर्षीय राजेन्द्र यादवको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा निधन भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।

गएराति मोटरसाइकललाई चारपाङ्ग्रे गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीको अनुमान छ । ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।यसैबीच सर्लाहीको लालबन्दी नगरपालिका–१६ भोर्लेनीस्थित रानीगञ्ज परवानीपुर भित्री सडकखण्डमा ना१९प २१६० नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक वृद्ध महिलाको निधन भएको छ ।

निधन हुनेमा सोही नगरपालिका–१६ निवासीे ७० वर्षीया जोककुमारी थापा भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ठक्करबाट ग म्भीर घाइते भएकी थापाको उपचारका क्रममा लालबन्दीको हेल्थ केयर प्रालिमा निधन भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।