अरु कोहि गएनन्: महरा भेट्न डिल्लीबजार कारागार पुगे डा. भट्टराई

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० माघ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले डिल्ली बजार कारागारमा गएर निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेटेका छन् ।

जबरजस्ती करणी सम्बन्धी कसूरमा कारागार चलान भएपछि महरालाई भेट्ने उनी पहिलो उच्च तहको राजनीतिज्ञ भएको कारागार स्रोतले बतायो ।

सोमबार दिउँसो कारागार पुगेका डा. भट्टराईले करिब एक घन्टा महरासँग कुराकानी गरेको कारागारका एक कर्मचारीले अनलाइनखबरलाई बताए ।

महरालाई १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो । आदेशविरुद्ध उनी उच्च अदालत पनि पुगे । उच्चले पनि जिल्लाकै आदेश सदर गरिदियो ।

तर, महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन उच्च अदातलते भनेको थियो । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए ।

महिलाको किटानी जाहेरीपछि उनी १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।