सुनसरी दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या ५ पुग्यो

हाम्रो सन्देश संवाददाता

विराटनगर,१९ माघ ।

सुनसरीको रामधुनी नगरपालिकाको पूर्व पश्चिम राजमार्ग सडक खण्डमा आइतबार बिहान भएको सडक दुर्घटनामा घाइते भएका १४ जना मध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको विराटनगर स्थित गोल्डेन अस्पतालले जनाएको छ ।

घाइते मध्ये ९ जनाको गोल्डेन अस्पताल विराटनगरमा, एपेक्स अस्पताल इटहरीमा १ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना गरी ११ जनाको उपचार भइरहेको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

१४ जना घाइते भएकोमा एपेक्स अस्पताल इटहरीबाट ३ जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

झापाबाट काठमाडौं जाँदै गरेको हायस र विपरित दिशाबाट आउदै गरेको बस आपसमा ठोक्किदा चालकसहित ५ जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा ३ जनाको र उपचारको क्रममा २ जनाको मृत्यु भएको बताइएको छ । घटनामा माइक्रोबसका चालक दीपक खडका, झापा भद्रपुरका ७५ वर्षीय हेमराज र उनकी श्रीमती ६५ वर्षीया डोलमाया कोइरालाको घटनास्थलमा मृत्यु भएको थियो भने घाइते गरिमा गौतम र टंक काफ्लेको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हायसमा १६ यात्रुहरु रहेको हायसका सहचालक केदार बस्नेतले बताएका छन् । तीव्र गतिमा आईरहेको हायस र बस अत्यधिक गति र बाक्लो कुहिरोका कारण ठोक्किएको हायसका घाइते यात्रुहरुले बताएका छन् ।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।