कर्मचारी नहुँदा भारतमै रोकियो रेल

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१९ माघ ।

रेल सञ्चालनमा ल्याउने भनिएको समय नजिकिइसक्यो । तर, कर्मचारी नहुँदा रेल आउनेमा अन्योल झन् बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रेल विभागले पयाप्त पूर्वतयारी गर्न नसक्दा कर्मचारी भर्नामा ढिलाइ भएको हो । जयनगर–जनकपुर–कुर्था खण्डमा सञ्चालन गर्न लागिएका दुई सेट रेलमध्ये एउटा तयार भइसकेको छ । अर्कोको निर्माण पनि अन्तिम चरणमा छ ।

बनिसकेको रेल ल्याउने तयारी नहुँदा अहिले भारतमै अड्किएको छ । कर्मचारी भर्ना नगर्दासम्म रेल आउने सम्भावना छैन । विभागले लामो समयदेखि कर्मचारी माग गर्दै आएको थियो । तर, मन्त्रालयले उदासीनता देखाउँदा कर्मचारी भर्नामा ढिलाइ भएको छ । विभागले २ सय कर्मचारी माग गर्दै मन्त्रालयमा पठाए पनि निर्णय हुन ६ महिनाभन्दा बढी लागेको छ । रेल सञ्चालनसम्बन्धी नियमकानुन पनि बनेको छैन । रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस भएर छलफलका क्रममा छ ।

‘पहिला हाम्रो तयारी पुगेन, यसमा कसैलाई दोष दिने ठाउँ छैन,’ विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘निर्णयकर्ता हामी नै हौं, यसमा ढिलाइ भएकै हो, त्यसैले रेल आउन केही समय लाग्न सक्छ ।’ कर्मचारी राख्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भएको र सोहीअनुसार भर्नाका लागि प्रारम्भिक चरणको काम अघि बढाइएको उनको भनाइ छ । भारतबाट २६ जना कर्मचारी ल्याइने उनले बताए ।

जनकपुरमा छुट्टै रेल कम्पनी छ, जहाँ कर्मचारी छैनन् । रेल चलाउने संस्था त्यही हो । ‘रेल विभागले चलाउँदैन, कम्पनीले चलाउने हो,’ उनले भने, ‘तर, कम्पनीमा पनि पर्याप्त कर्मचारी छैनन्, त्यहाँ भएका कर्मचारीबाट मात्र रेल चलाउन सकिन्न ।’ अहिले २ सय २६ जना कर्मचारीको आवश्यकता रहेको मिश्रले जानकारी दिए । ‘कम्पनीमा १५र२० जना कर्मचारी छन्, ती पनि कुन–कुन कामका लागि दक्ष छन्, हेर्नुपर्नेछ,’ उनले भने, ‘रेलवे भनेको जहाजजस्तै हो, प्रत्येक ट्रिपमा जाँच गर्नुपर्छ ।’ सबै तयारी पूरा गरेपछि मात्र रेल आउने मिति तय गरिने विभागले जनाएको छ । चालक, मर्मत गर्ने प्राविधिक र कर्मचारी नभए रेल सञ्चालन गर्न कठिन हुन्छ । त्यसैले अहिले कर्मचारी भर्ना मापदण्ड बनाइँदै छ । ‘मापदण्डमा कस्तो कर्मचारी राख्ने, शैक्षिकस्तर कति हुनुपर्ने, सेवासुविधा के–कति दिने भन्नेलगायत विषय तोकिन्छ,’ मिश्रले भने, ‘मापदण्ड बनाएर कर्मचारी भर्ना गर्नासाथ रेल सञ्चालनमा आउनेछ ।’

विभागले माघ तेस्रो साताबाट रेल आउने बताउँदै आएको थियो ।

नियमसंगत रूपमा लोकसेवाले कर्मचारी भर्ना गर्नुपर्ने हो । तर, अहिले लोकसेवाबाट भन्दा पनि करारमा कर्मचारी भर्ना गरेर रेल सञ्चालन गर्ने तयारी गरिएको छ । रेल सञ्चालन हुने स्थानमा ८ स्टेसन रहनेछन्, जसमा एउटा स्टेसनमा कम्तीमा १० देखि १५ जना कर्मचारी आवश्यक पर्छन् । माग गरिएका सबै कर्मचारी नेपालका लागि मात्र हुन् ।

३५ किमि दूरीको कुर्थासम्मको काम सकिइसकेको छ । कुर्थादेखि बिजलपुरासम्म १७ किमि छ, जहाँ रेल लिकको काम अन्तिम चरणमा पुगेको छ । बिजलपुरादेखि बर्दिबाससम्म १७ किमि दूरी छ । यो खण्डमा लिक निर्माणको काम भइरहेको छ । जयनगरबाट बर्दिबाससम्म ६९ किमिको रेलवे नेटवर्क बन्नेछ । रेल सेट खरिदका लागि ८४ करोड ६५ लाखमध्ये २० प्रतिशत रकम बैंक खातामार्फत पठाइसकिएको छ । ‘सम्झौताअनुसार २० प्रतिशत रकम मात्र दिएका छौं,’ मिश्रले भने, ‘थप ८० प्रतिशत रकम रेल चलाएर चित्त बुझेपछि मात्र दिनेछौं ।’ रेलको एक सेटमा पाँचवटा डिब्बा हुनेछन् । सबै डिब्बामा गरी एकपटकमा करिब १३ सय यात्रु अटाउने मिश्रले जानकारी दिए ।

दुई सेट रेल खरिदका लागि रेल विभाग र भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडबीच गत जेठमा सम्झौता भएको थियो । कोंकणमार्फत नै रेल नेपाल ल्याइनेछ । पहिलो रेल सेट ल्याएर सञ्चालन गरेपछि थप अर्को ल्याइनेछ । ‘पहिलो सेट आएपछि अर्को ल्याउन समस्या हुँदैन,’ महानिर्देशक मिश्रले भने । कान्तिपुरबाट

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।