राष्ट्रियसभा बैठक : कोरना भाइरसबारे सचेतना अपनाउन आग्रह

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१९ माघ ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्यले आधारभूत स्वास्थ्य उपचार सेवा पाउने संवैधानिक हकको कार्यान्वयन हुनुपर्ने र कोरनाजस्ता भाइरसबाट बच्न सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।

बैठकको विशेष समयमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार संविधानको मौलक हकमा व्यवस्था भए पनि जनताले निःशुल्क भनिएका औषधि सहजै पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षा सहज हुनुपर्नेमा निजी र सरकारी विद्यालयका नाममा विभेद छ ।”

काङ्ग्रेसकै रमेशजङ्ग रायमाझीले कोरना भाइरस रोक्न सरकारले चासो दिनुपर्ने बताउनुभयो । नेकपाकी डा विमला राई पौडेलले ग्यासको हिटरले भारतीय पर्यटनको मृत्युजस्ता समस्यालाई गम्भीरतापूर्वक लिई जनताको जीउधनको सुरक्षामा ध्यान दिन माग गर्नुभयो ।

नेकपाका युटोल तामाङले मन्त्रिपरिषद्मा महिलाको सङ्ख्या घटाइएकामा चिन्ता प्रकट गर्नुभयो । राजपाका वृषेशचन्द्र लालले सीमा र राष्ट्रिय सुरक्षाबारे सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । नेकपाकी मीना बुढाले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अङ्ग्रेजी विषय शिक्षक अभाव भएकामा चिन्ता प्रकट गर्नुभयो । समाजवादी फोरमकी प्रमिला कुमारीले नागरिकता विधेयक छिटो ल्याउन माग गर्नुभयो । नेकपाका शेरबहादुर कुँवरले सुदूरपश्चिमा रहेको छाउपडी प्रथा अन्त्य गराउन आग्रह गर्नुभयो ।

समितिको प्रतिवेदन पेश

‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सङ्घीय संसद्, राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट सांसद ठगे्रन्द्रप्रकाश पुरीले सो विधेयक सभासमक्ष पेश गर्नुभएको हो ।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।