सिन्धुलीमा भएको भयानक मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१८ माघ ।

आज बिहानै भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । वीपी राजमार्गअन्तर्गत गडौली पुलमा आज बिहान प्रदेश २–०२–००१ प.२५१० न.को. मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटर साइकल चालक धनुषा जिल्ला महेन्द्रनगरका सुनिलकुमार राय राजपुत र अन्य एक जना पुरुषको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खसेको हो ।

त्यसैबिच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको देवदहमा बिहीबार दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ ।
लु २३ प १०२८ र लु ३३ प ७०८३ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार चार जनाको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक रूपन्देहीको सैनामैना नगरपालिका पर्रोहा बस्ने २१ वर्षीय खेमराज थापा र नवलपरासीको रामग्राम बस्ने २५ वर्षका सुरज चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बस्ने बुटवल उपमहानगरपालिका–१६ का सुरज कुँवर र नवलपरासी सुनवल–२ बस्ने दिवाकर यादवको उपचारको क्रममा मृत्यु भएको थियो । घाइते दुवैलाई देवदह मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । दुवै मोटरसाइकल तीव्र गतिमा रहेकाले ठोक्किँदा सडकबाट परसम्म उछिट्टिएको थियो । दुर्घटनामा परी दुवै मोटरसाइकल क्षतविक्षत भएको छ ।
राजधानीबाट

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।