प्रचण्डमाथि फेरी लागो ठुलो आरोप, नेकपाभित्र खैलाबैला

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१८ माघ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवम् नेकपा प्रचार प्रसार विभागका उपप्रमुख सुर्य थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट चलाएको लिखित आरोप लगाएका छन्। प्रचण्डको नाम नलिइ थापाले उनीलाई इंगित गरेका हुन्। केन्द्रीय कमिटीको जारी बैठकमा २९ बुँदे लिखित सुझाव राख्दै थापाले पार्टीमा गुटबन्दी भयो भन्दै व्यवहारमा गुटबन्दीको व्यापक अभ्यास भइरहेको समेत उल्लेख गरेका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई घेराबन्दी र असफल पार्ने गरी भैसेपाटी खुमालटार वा अन्यत्र समेत बैठक भइरहेको उनले बताएका छन्। पुस २३ गते नेकपाका सचिवालय सदस्य वामदेब गौतमको घरमा पार्टी अध्यक्ष प्रचण्ड वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ भेला भएका थिए। त्यो भेलालाई प्रधानमन्त्री निकटका नेताहरुले ओलीविरुद्धको गुटबन्दी भन्ने गरेका छन् भने कार्यकारी अध्यक्ष भएर प्रचण्ड गुटको मात्रै नेता बन्न खोजेको आरोप लगाएका छन्। उनले भनेका छन् पार्टीमा गुटबन्दी भयो भन्दै व्यवहारमा गुटबन्दीको व्यापक अभ्यास भइरहेको छ। अनुशासनहीनता अराजकता प्रदर्शन र स्वार्थ प्रेरीरत बैठकहरु किन भएका छन्।

थापाले दसौं बुदामा प्रश्न गरेका छन् भैसेपाटी खुमालटार वा अन्यत्र यस्ता बैठक किन भइरहेका छन्। मुल नेतृत्वलाई घेराबन्दी र असफल पार्ने गरी अनुचित क्रियाकलापहरु गरिनुहुदैन। पुर्ववर्ती समुहका तमाम गलत विरासत बोकेर एकताबद्ध नयाँ पार्टी सञ्चालन हुन सक्दैन। थापाले एकताबद्ध ढंगले पार्टी अघि बढ्नुको सट्टा समुहका बैठकहरु गरेको र दाउपेच तथा चलखेलमा लागेको बताएका छन्। पार्टी एकताको बेलादेखि निर्णय प्रक्रियामा सहमतिका साथ अगाडि बढ्ने समझदारी र निर्णयलाई कडाईका साथ व्वयवहारका लागु गर्न समेत थापाले माग गरेका छन्। राजनीतिक प्रतिवेदनमा सरकारको कामको सन्दर्भमा रहेका नकरात्मक टिप्पणी गलत छन्। जनतालाई प्रत्यक्ष राहत पुर्याउने काम गर्न ध्यान नदिएजस्तो अर्थ लाग्ने गरी प्रतिवेदनबाट गलत सन्देश प्रवाह गरिनु हुदैन।

आफ्नो २९ बुदे लिखित सुझावमा थापाले भनेका छन् राजधानीका सडकहरुमा रहेका खाल्डाखुल्डीहरु अभियानका रुपमा पुरिदासमेत अन्यथा उल्लेख भएको छ। यसलाई हटाएर तथ्यसम्मत बनाउनुपर्छ। विधान संशोधन प्रस्तावमा दुई अवधि कार्यकारी प्रमुख र ७० वर्षमा अनिवार्य अवकाशको विगत अभ्यासलाई उल्लेख गर्नुपर्ने भन्दै थापाले विगतमा लामो अनुभवका आधारमा व्यवस्थित र स्थापित सकरात्मक प्रबन्धहरुलाई पार्टी एकतापछि हटाउँदा गलत हुने उल्लेख गरेका छन्। पार्टीका जिम्मेवार नेताहरुले नै सरकारको आलोचना गरेको भन्दै थापाले आपत्ति जनाएका छन्।

थापाले भनेका छन्-सरकारको भत्सर्ना र आलोचनामा पार्टीका नेताहरु नै अझ स्थायी कमिटी र केन्द्रीय कमिटिका नेताहरुले सिमा नाघेर बोल्ने आदि गर्नुहुँदैन। सरकार भनेको प्रधानमन्त्री र मन्त्रीहरुको मात्रै होजस्तो गरी यस्ता जिम्मेवारीबाट आज बाहिर रहेका नेताहरुले सरकारको प्रतिरक्षा र पक्षपोषण गर्नुपर्नेमा उल्टै पार्टी नीतिविपरित यस्ता गतिविधि गर्नुहुँदैन। एमसीसीप्रति तथ्यहीन र गलत दुष्प्रचार गरिएको भन्दै थापाले आवधिक र परियोजनाकेन्द्रित अनुदान सम्झौता भएकाले यसलाई सैनिक गठबन्धनको अंग भनेर अनाधिकृत व्यक्तिहरुले टिप्पणी गरी भ्रम सिर्जना बन्द गर्नुपर्ने बताएका छन्। थापाले आफ्नो सूझावमा एकीकरणको प्रक्रिया टुंगिएपछि पूर्ववर्ती समुहको आधारमा नजिक वा टाढा तथा आफ्नो वा अर्काको भन्नेजस्तो व्यवहार गर्नु नहुने उल्लेख गरेका छन्।

नेताहरुले गला र टुप्पीसम्म मालाको भारी बोक्ने संस्कृति वा क्वीन्टलका माला लगाउने बिहारी संस्कारको अभ्यास अथवा विमानस्थलमा स्वागतको लस्कर लाग्ने पिर्कै सलामीहरु लिनेआदि गलत अभ्यासहरु बन्द गर्नुपर्छ थापाले भनेका छन्, भर्खरै जारी आचारसंहितामा यस्ता विषयको उल्लेख नगर्नु दुःखद हो। विदेशी फूल आयात गरी माला लगाएर कोही पनि विशेष वा विशिष्ठ कहलिन खोज्ने अभ्यास बन्द गर्नुपर्छ। दुई पार्टीको एकता केपी ओली र प्रचण्डको दृढ लचक र निर्णायक पहलकदमी तथा जोखिमपूर्ण निर्णय लिनसक्ने क्षमताका कारण सम्भव भएको भन्दै थापाले यसलाई अन्यथा ढंगले अघि बढाउन वा चलखेल गरेर कब्जाको योजनाका साथ कोही पनि अघि बढ्न उपयुक्त नहुने उल्लेख गरेका छन्। त्यस्तै थापाले पार्टीमा विभिन्न अध्ययन समुह र प्रतिष्ठानका नाममा गुटबन्दी भइरहेकोले यसलाई बन्द गर्नुपर्ने माग राखेका छन्।

थापाले भनेका छन्-पुष्पलाल र अरु विभिन्न सम्मानीत नेताहरुको स्मृतिमा खुलेका प्रतिष्ठानहरुको जिल्ला तहसम्म शाखा विस्तार र भेलाआदि गरेर गुटबन्दीलाई पार्टीमा संस्थागत गर्ने पद्धतिविपरीत काम गरिएको छ। गुटबन्दी कार्ल माक्स पुष्पलाल र मदन भण्डारी अध्ययन केन्द्र वा अन्य नेताहरु कसैका नाममा पनि गरिनु गलत छ। पार्टीको प्रचार कामलाई व्यवस्थित गर्न आवश्यक र जरुरी रहेको भन्दै थापाले नवयुगलाई मुखपत्रको रुपमा अगाडि बढाउनुपर्ने माग गरेका छन्। पार्टीको प्रचार कामलाई व्यवस्थित गर्न आवश्यक र जरुरी निर्णय गर्नुपर्ने खाचो छ थापाले भनेका छन्, पार्टीको मुखपत्र कुन हो? यसबारेमा नै निर्णय अत्यावश्यक छ। अभिवाजित नेपाल कम्युनिष्ट पार्टीले प्रकाशन थालनी गरेको र पछि विभिन्न पक्षले नियमितता दिएको नवयुगलाई मुखपत्रका रुपमा निरन्तर गर्ने निर्णय गरेर अघि बढ्न ढिलो गर्नुहुँदैन

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।