क्लबको बाथरुममा नुहाउन गएका पति–पत्नी मृत भेटिए

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ माघ ।

स्वास्थ्य क्लबको बाथरुममा नुहाउन गएका दम्पतीको मृत्यु भएको छ । ललितपुरको स्वास्थ्य क्लबको बाथरुममा नुहाउन पुगेका ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारी गर्बुजाको मृत्यु भएको महानगरीय प्रहरी परिसरका ललितपुरका प्रमुख टेकबहादुर राईले जानकारी दिए ।

उनका अनुसार हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) थिए ।

प्रहरीका अनुसार उनीहरू बुधबार राति फिट एन्ड फाइन एरोबिक क्लबमा गएका थिए र राति क्लबको बाथरुमको साउना (तातो आउने विशेष व्यवस्था भएको) मा नुहाउन पसेका थिए ।

धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस अवस्थामा भेटिएका थिए।

तत्काल उद्धार गरी पाटन अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रमुख राईले जानकारी दिए ।

गर्बुजामगर दम्पति अक्सिजन नपुगेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।