पैसा तिरेर रगत लिनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ: अध्यक्ष दाहाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रगतको अभावमा छट्पटाइरहेका बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका छन्।

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा बुधबार काठमाडौंमा आयोजित १४औंँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस समारोहमा उनले भने, “दाताले रगत दिइरहने तर पीडितले पैसा तिरेर मात्रै रगत लिनुपर्ने अन्तरविरोधको समाधान छिटोभन्दा छिटो हुनुपर्दछ।”

अध्यक्ष दाहालले नेकपाको अध्यक्ष र सरकारको नेतृत्व गर्ने पार्टी नेताको हैसियतमा अन्तरविरोध समाधान गर्न आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा अध्यक्ष दाहालले १० जना रक्तदातालाई कदरपत्रद्वारा सम्मान गर्नुका साथै समाजले प्रकाशन गरेको ‘हाम्रो रगत पुस्तक’को लोकार्पण पनि गरेका थिए।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।