धुर्मुस सुन्तली फरक फरक राजनितीमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ माघ ।

फागुन ९ मा रीलिज हुने नेपाली चलचित्र ‘सेन्टिभाइरस’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई फरक फरक राजनैतिक विचारमा देखाइएको छ ।

बुधबार राजधानीको क्युज सिनेमा मा पत्रकार सम्मेलन गरेर ट्रेलर सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा धुर्मुसले बिहान ४ बजेदेखि राती ११ बजेसम्म देशको लागि आफु दिनरात नभनी खटिरहेको र विगत ६ बर्षदेखि आफ्नो कला क्षेत्रबाट टाढा रहेर काम गरिरहँदा र अहिले कामको कारण दिन गते पनि थाहा नहुनु साथै आफ्नो परिवार, श्रीमती सँग भेट पनि नहुने बताउँदा धुर्मुस भावुक हुनुका साथै उनको आँखा रसाउँछ र छेउमै रहेकी सुन्तली पनि आँसु लुकाउन खोज्दा खोज्दै उनको पनि आँखा रसाउँछ ।

ट्रेलरमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन बिक्रम राई (तक्मे बुढा), बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, सन्दिप क्षेत्री र पवन खतिवडा (म्याकुरी) लगायतलाई फिचर गरिएको छ ।

चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन्, कथा कुमार कट्टेल (जिग्री) र दिपक आचार्य (काकु) ले लेखेका हुन् भने शैलेन्द्र डी. कार्कीले छायांकन गरेका छन् ।

राजनितीक विषयवस्तुलाई समेटेर सार्वजनिक गरिएको ट्रेलरमा गाउँमा चुनावको माहोल र जनताको आक्रोशलाई देखाइएको छ । कुनै गाउँको भोट नेताको निर्णायक भएको र त्यसलाई जसरी पनि आफ्नो पक्षमा पार्नुपर्दाको अवस्था देख्न सकिन्छ ।

धुर्मुस र सुन्तलीलाई श्रीमान् श्रीमतीको भूमिकामा देख्न सकिन्छ भने एक फरक फरक राजनितीमा आस्था राख्ने श्रीमान् श्रीमतीको बिचमा हुने घरझगडा देखि लिएर चुनावको प्रचारप्रसारको अवस्थामा आउने परिस्थितीलाई समेत प्रस्तुत गरिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।