कार्यक्रमका लागि अमेरिकी गएकी उपमेयर दर्शना उतै ‘लुकिन्’

हाम्रो सन्देश संवाददाता

सुर्खेत, ९ माघ ।

एक कार्यक्रममा सहभागी हुन अमेरिका गएकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर उतै हराएकी छन् ।

एक गोष्ठीमा सहभागी हुन नगरपालिका संघमार्फत् कातिक महिनामा अमेरिका गएकी तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता (दर्शना) नेपाली त्यहाँ गइसकेपछि सम्पर्क बाहिर रहेको तिलागुफाका मेयर रत्नबहादुर शाहीले जानकारी दिएका छन् ।

उपमेयरले अमेरिकाको गोष्ठीमा सहभागी हुन आफ्नो नाम परेको भनेपछि नगरबाट स्वीकृति दिइएको तर, गएपछि कुनै जानकारी नगराएको मेयर शाही बताउँछन् । उपमेयर नेपाली गत कात्तिक महिनामा कार्यक्रममा भाग लिन अमेरिका गएकी हुन् । उपमेयर अमेरिका पुगेपछि एक पटक मात्र टेलिफोन सम्पर्क भएको मेयर शाहीले जानकारी दिए ।

उक्त टेलिफोन सम्पर्कमा उपमेयर नेपालीले ‘आफू बिराम भएकाले फर्किन नसकेको’ बताएको शाहीले बताए । उपमेयर नहुँदा अधिकांश योजनाका भुक्तानी दिन समस्या भएको मेयर शाहीले बताएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उपमेयरको उम्मेद्वार बनेकी नेपाली एक हजार ८४३ मत ल्याएर निर्वाचित भएकी हुन् । बिना सम्पर्क चार महिनासम्म अमेरिका रहेका कारण उनी जानाजान लुकेर बसेको हुनसक्ने समेत आशंका बढेको छ । यसअघि पनि विभिन्न कार्यक्रमको शिलशिलामा अमेरिका गएका केहि व्यक्तिहरु उतै ‘लुकेर’ बस्ने गरेको घटनाहरु बेलाबखत सार्वजनिक हुँदै आएका छन् । नयाँ पेज बाट साभार

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।