एन्फा कास्कीका अध्यक्षलाई प्रदेश सांसद मनाङेले हाने झापड

हाम्रो सन्देश संवाददाता

पोखरा, ९ माघ ।

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका छन्। पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा मंगलबार आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटस्थलमा सांसद गुरुङले एन्फा कास्कीका अध्यक्ष मिलनलाई झापड हानेका हुन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री कपको उद्घाटन आउनु अघि मनाङ जिल्लाबाट आएका खेलाडीलाई होटलको पैसा नतिरेको र मैदान पनि नमिलाएको भन्दै झापड हानेको एन्फा कास्कीका अध्यक्ष गुरुङले बताए।

नियम विपरित मैले कसरी खेल सुरु हुने भन्दा ५-६ दिन पहिलेदेखि होटलमा बसेको पैसा तिर्न सक्छु उनले भने। नियममा खेल सुरु हुनु एक दिन अघि र खेल सकिएको एक दिनपछिसम्मको होटलको पैसा तिर्ने व्यवस्था भएकोले आफू त्यो भन्दा बहिर जान नसक्ने बताउँदा पनि हिर्काएको उनले सुनाए।

‘सांसदले हात चलाउनु भयो, मैले सांसदको मर्यादा राखेर सहेरै बसेँ’, उनले भने। ‘मैले पनि उहाँको जस्तो हात चलाउन सक्थेँ, सांसदको मर्यादा राखेँ’, उनले सुनाए।

प्रदेश सरकारबाट बजेट आएको छैन। खेल सुरु हुनु अघि नै प्रदेश सरकारबाट बजेट आउने कुरा पनि भएन खेलको व्यवस्थापन गर्न कठिन भएको उनले सुनाए। उनले भने, ‘सांसद जस्तो मर्यादित पदमा बस्नेले बुझनु पर्ने हो !’

सांसद गुरुङले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेको स्वीकार छन्। ‘मुख्यमन्त्री कपका लागि गाउँबाट आएका खेलाडीलाई मैदान पनि उपलब्ध नगराएको र होटलको व्यवस्था पनि नमिलाएकोले यसो सम्झाएको हो’, उनले भने।

सुरुमा सम्झाउँदा ढाँटेको र वास्ता नगरेको उनको आरोप छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।