ओली र मोदीले गरे आईसीपीको उद्घाटन भिडियो कन्फ्रेस मार्फत गरे

हाम्रो सन्देश संवाददाता

विराटनगर, ८ माघ ।

विराटनगर महानगरपालिका १८ बुधनगरमा निर्माण भएको नेपाल–भारत एकीकृत जाँच भन्सार चौकी (आईसीपी) उद्घाटन भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधामन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेस मार्फत संयुक्त रुपमा आज उद्घाटन गरेका हुन् । भारतले मोरङस्थित विराटनगर महानरनगरपालिकाको बुधनगरमा बनेको एकीकृत जाँच चौकी सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपालका प्रधानमन्त्री ओलीसँग भारतीय प्रधानमन्त्री मोदीले भिडियो कन्फ्रेन्समार्फत भारतीय सहयोगमा बनेको आईसीपी हस्तान्तरणको घोषणा गरेका हुन् । हस्तान्त्रण पछि दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट आईसीपीको उद्घाटन गर्दा आईसीपी निर्माण गरिएको स्थानमा डिसप्ले बोर्ड राखिएको थियो ।

प्रधानमन्त्री ओलीले भारतिय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । विराटनगरको एकीकृत जाँच चौकी उद्घाटनका क्रममा भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तो दिएका हुन् ।

प्रधानमन्त्री ओलीले एकीकृत जाँच चौकीले दुवै देशको व्यापारमा सुदृढ ल्याउनुका साथै आर्थिक विकासमा सहयोग पुग्ने धारणा राख्दै नेपाल भारतसँग विकासमा साझेदारी गर्न चाहेको कुरामा जोड दिए । उनले भारतसरकारको सहयोगमा निर्माण भएको यो चौकीले दुबै देशबीच सम्बन्ध सुदृढ हने विश्वास व्यक्त गर्दै समकक्षी प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण गर्न निम्तो पनि दिए ।

भिडियो कन्फ्रेन्सबाटै भारतका प्रधानमन्त्री मोदीले नेपाल भारतको सम्बन्ध छिमेकीको मात्र नभएर आर्थिक सामजिक र साँस्कृतिक रुपमा रहेको बताए । उनले नववर्ष सन् २०२० को अवसरमा शुभकामना दिँदै यो नयाँ वर्ष मात्र नभएर नयाँ दशक पनि शुरु भएकोले नेपालको शान्ति, अखण्डता र समृद्धिको कामना गरे ।

नवनिर्मित यो चौकीले व्यापार, संस्कृति, शिक्षा क्षेत्रमा सुगमता ल्याउने विश्वास गर्दै प्रधानमन्त्री मोदीले सन् २०१५ मा नोपलमा आएको भूकम्पले भत्किएका घरहरुको पुनः निर्माणमा भारत सरकारले निरन्तरता दिने बताए । नेपाल भारतको सम्बन्धले नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीले गर्नु भएको निम्तो स्वीकार गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले नेपाल र भारतबीच अटुट सम्बन्ध रहेको चर्चा गर्दै विगतमा राजनीतिक सङ्क्रमणले विकासमा तीव्रता आउन नसकेको बताए । राज्मन्त्री दुगडले आईसीपी सञ्चालनले दुवै देशको व्यापार सहजीकरणमा नयाँ उचाई प्राप्त भएको बताए । उनले नेपाललाई भारतले माया गर्ने र नेपालपनि भारतसँग आत्मिय सम्बन्ध राखिरहन चाहने गरेको समेत बताए ।

राज्मन्त्री दुगडले पछिल्लो राजनीतिक परिवर्तनपछि बनेको बलियो सरकारले विकास र समृद्धिमा सफलता हासिल गर्ने भन्दै नेपालमा प्रशस्त सम्भावना रहेर पनि सबै अवसरहरुको सदुपयोग हुन नसकेको चर्चा गरे । उनले नवनिर्मित चौकीले नेपाल भारतबीचको व्यापारमा अत्यन्त सुविधा पुग्ने विश्वास व्यक्त गर्दै यो चौकीले गर्दा नेपालमा उत्पादन लागत कम हुने र रोजगार एवं व्यापारमा सुगम हुने बताए ।

एकीकृत भन्सार जाँच चौकी आजबाट सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालय छोटी भन्सार कार्यालय हुने र यहाँबाट पोके व्यापारीले मात्र सुविधा पाउने बताइएको छ ।

विराटनगर भन्सार कार्यालय देखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ विगाहा क्षेत्रमा संरचनाहरु तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भएपनि यसको निर्माण कार्य सन् २०१६ बाट शुरु भएको हो । भारतका अहमदावादको दिनेशचन्द्र आर अग्रवालले भरातीय रकम रु.एक अर्व १४ करोड लागतमा निर्माण गर्न ठेक्कमा लिएको थियो ।
विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँच चौकीबाट शुर भएपछि विराटनगर रानीसँग जोडिएर रहेका जोगबनी बजार पनि सहज हने र सवारीको चाप स्वतः घटने अनुमान गरिएको छ । विविध कारणले निर्माणमा ढिलो भएको भनिएपनि अगामी केही दिनमै सो जाँच चौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले बताऐा । उनले भन्सारका हरेक गतिविधिलाई व्यवस्थित गर्न चौकीले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल, भारतीय राजदुताबासका प्रथम सचिव प्रजीत सिँह गुलाटी र साँसद शिवकुमार मण्डल र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले एकीकृत जाँच चौकीले नेपाल र भारतको व्यापारमा सरलता ल्याउने विश्वास व्यक्त गरे ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।